Wednesday, July 8, 2026
spot_img

दशैँको मुखैमा अटोमोबाइल्स बजारमा बज्रपात: ‘अटो हब’ थापाथलीमा खरानीको डङ्गुर मात्रै

spot_img

साउन अन्तिममा भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ र भदौको सुरुवातमै भएको ‘नाडा अटो शो’ले अटोमोबाइल्स बजार गुल्जार बनाउने अपेक्षा लिइएको थियो । मनग्य बुकिङले अटोमोबाइल्स व्यवसायीहरु हौसिएका थिए । ति बुकिङहरु दशैँ र तिहार जस्ता महत्वपूर्ण चाडपर्वको समयमा बिक्रीमा ‘कन्भर्ट’ हुने अपेक्षा पनि उत्तिकै थियो ।

तर, भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनले व्यवसायीहरुलाई निराश मात्रै बनाएन, थला नै पार्‍यो । ‘अटो हब’का रुपमा ख्याती कमाएको थापाथली क्षेत्रमा भएका गाडीका शोरुमहरु आन्दोलनकारीले भदौ २४ को अपरान्हमा खण्डहर बनाइदिए । अहिले थापाथलीमा रहेका गाडीका शोरुमहरु विरुप बनेका छन्, खरानी बनेका छन् । शोरुमको आकार प्रकार मात्रै बिग्रिएको छैन, शोरुममा राखिएका कयौँ गाडीहरुको अस्थिपञ्जर मात्रै बाँकी छ ।

सबैभन्दा बढी क्षति चौधरी समूह अन्तर्गतको सीजी मोटर्सले ब्यहोर्नुपर्‍यो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटीका अनुसार सीजीले आयात गर्ने ४ वटा ब्राण्डका २० भन्दा बढी गाडीहरु थापाथलीमा मात्रै जलेका छन् । ‘थापाथली शोरुममा मात्रै एक्सपेङ, आयोन, स्मार्ट जस्ता ब्राण्डका २० युनिटभन्दा धेरै गाडीहरु जलेका छन्’ उनले भने, ‘आगो नलगाइएका गाडीहरु पनि सद्दे छैनन्, सीसा फुटेका छन् । बाहिरी स्वरुप पूरै बिग्रिएको छ ।’

आन्दोलनकारीहरुको निशानामा परेको सीजी ग्रुपका अटोमोबाइल्स मात्रै होइन, इलेक्ट्रोनिक्स शोरुमसहित केन्द्रीय कार्यालयमा पनि तोडफोड र आगजनी भएको छ । प्रमुख कार्यकारी अधिकृत सिवाकोटीका अनुसार नक्सालको भाटभटेनीस्थित मोटरसाइकल शोरुम पनि जलाइएको छ ।

यति मात्रै होइन, बिक्री गरिसकिएका तर, नामसारी गर्न बाँकी रहेका गाडीको फाइल पनि कार्यालयमै थिए, ति फाइल खरानी बनेका छन् । सीईओ सिवाकोटीका अनुसार नामसारी गर्न गर्न बाँकी करिब ३ सय गाडीका फाइल जलेर नष्ट भएका छन् ।

‘डेलिभरी गर्नका लागि शोरुममा भर्खरै गाडी ल्याइएको थियो, शोरुम भरिभराउ थिए’ उनी भन्छन्, ‘भदौको अन्तिममा डेलिभरी दिने भनेर तयारी भइरहेको थियो । तर, गाडी सबै जलेर सकिए ।’

सुजुकी, महिन्द्रा, टाटा लगायतका शोरुमहरु पनि ध्वस्त बनेका छन् । टाटाका ४ वटा ईभी शोरुमभित्रै पूर्णरुपमा जलेका छन् । प्रदर्शनकारीले चोरेर लगेका दुइ वटा टाटाका गाडी त्रिपुरेश्वर र धापासीमा पूर्णरुपमा जलेको अवस्थामा भेटिएका थिए । कर्मचारी र सुरक्षागार्डले आगलागीबाट बचाउन शोरुमबाट निकालेका गाडीमा पनि तोडफोड भएको छ ।

सुजुकीका दुइ वटा गाडी पूर्ण रुपमा जलेका छन् । महिन्द्राका ५ वटा गाडी पनि आगो लागेर ध्वस्त भएका छन् । हुण्डाइको एउटा गाडीमा आगो लागेको छ । शोरुम आगो लाग्नबाट बचेपनि तोडफोड भएको छ ।

‘थापाथलीमा रहेका विभिन्न अटोमोबाइल्स ब्राण्डका शोरुम जल्दा ४० युनिट भन्दा धेरै गाडीहरु जलेका छन्’ एक अटोमोबाइल्स कम्पनीका प्रतिनिधि भन्छन्, ‘अहिले हामी यहाँबाट विस्थापित भएका छौँ ।’

दशैँको मुखैमा आइपरेको बज्रपात
नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका अध्यक्ष करण चौधरीका अनुसार वर्षभरीमा बिक्री हुने सवारी साधनको ४० प्रतिशतभन्दा बढी बुकिङ र बिक्री नाडा अटो शो र दशैँको समयमा हुन्छ । तर, यसपाली दशैँको सम्मुखमा अटोमोबाइल्स बजार नै थला परेको छ ।

‘सबै व्यवसायमा क्षति पुगेको छ, तर ठूलो लगानी भएको, ठूलो मात्रामा राजस्वमा योगदान दिइरहेको र ठूलो रोजगारी समेत सिर्जना गरिरहेको अटोमोबाइल्स उद्योगमा परेको यो महाविपत्ति शब्दमा भन्न सकिने अवस्था छैन’ एक जना व्यवसायीले बिजनेश पानासँग भने, ‘यति नै क्षति भयो भनेर पनि भन्न सकिने अवस्था छैन । अब बीमाले तथ्याङ्क दिएपछि बल्ल थाहा हुन्छ ।’

त्यसो त, नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पोमा गरी ८ हजार युनिटभन्दा बढी गाडी बुकिङ भएका थिए । बुकिङ भएकोमध्ये ४० प्रतिशत हाराहारी बिक्रीमा परिणत हुने व्यवसायीको अपेक्षा थियो । यसमा पनि दशैँ तिहारकै अवसरमा बढी डेलिभरी हुने आशामा व्यवसायीहरु थिए । तर, उक्त आशा निराशामा बदलिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाका अनुसार अब गाडी किन्ने सोच बनाएकाहरुले पनि तत्कालै किन्ने सम्भावना न्यून छ । ‘प्रगति गर्नै हुँदैन, प्रगति गरेकाहरु सबैले गलत काम गरेरै कमाएका हुन्छन्, भ्रष्टाचार नै गरेका हुन्छन् भन्ने चिन्तनले गर्दा घर गाडी किन्न पनि डराउनुपर्ने अवस्था आयो’ उनी भन्छन्, ‘यसको असर लामो समय जान सक्ने जोखिम छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...
spot_img