नेपाल तयारी पोशाक उद्योग संघले नेपालको तयारी पोशाकको वर्तमान अवस्था, चुनौति तथा अवसरहरुको सम्बन्धमा छलफल कार्यक्रम आयोजना गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष पशुपति देव पाण्डेले मन्त्रीलाई संघको सचिवालयमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गरे । उनले अमेरिकी सरकारको भंसार नीतिबाट तयारी पोशाकको निर्यातमा देखिन सक्ने ट्रान्ससिपमेन्ट (Transshipment) को अवस्था ठूलो चुनौतिका रुपमा देखिएको र एकदमै चनाखो हुनुपर्ने स्थिति आएको र अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन र स्पष्ट्र रणनीति मार्फत नेपालले अवसरका रुपमा उपयोग गर्न सकिने बताए। साथै नेपालमा कपडा तथा तयारी पोशाक उद्योगको प्रवर्द्धनको लागि छुट्टै Textile and Clothing Development Council को स्थापना हुनुपर्ने उल्लेख गरे।
सो अवसरमा प्रमुख अतिथि मन्त्री भण्डारीले निकट भविष्यमा नेपाल र संयुक्त राज्य अमेरिका बीच आयोजना हुने Trade and Investment Framework Agreement (TIFA) सम्बन्धी वार्ता वार्तालाई फलदायी बनाउन गृहकार्यहरु भैरहेको र सम्बन्धित निकायहरुमा सम्पर्कमा रही कार्यहरु भैरहेको, ट्रान्ससिपमेन्ट (Transshipment) को अवस्थामा भंसार महशुल बढ्ने संभावना रहेकोले चनाखो हुनुपर्ने स्थिति आएको र सरकार यसमा गम्भीर भएको बताए । मन्त्री भण्डारीले तयारी पोशाक सहित निर्यातजन्य बस्तुको उत्पादन बाट देशमा अर्थिक बिकास, रोजगारी सृजना र निर्यात प्रवर्द्धनका विषयमा गहन चिन्ता र चासो को साथ विचार राखे । साथै संभावना भित्र चुनौति र चुनौति भित्र संभावना उल्लेख गर्दै निर्यात प्रवर्द्धनमा सरकारको सक्दो सहयोग हुने बताए ।
उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले लामो समय देखि परिमार्जन गर्नुपर्ने तयारी पोशाकको खपत निर्धारण सम्वन्धी कार्य सम्पन्न भैसकेको र निर्यातजन्य उद्योग क्षेत्रमा उद्योग विभागले सक्दो सहयोग गर्ने बताए । उक्त कार्यक्रममा संघका पूर्व अध्यक्ष, विभिन्न बस्तुगत संघका अध्यक्षहरु र नेपाल तयारी पोशाक उद्योग संघका सदस्यहरु उपस्थिति रहेको उक्त कार्यक्रम संघका महासचिव भीम कुमार गिरीले संचालन गरेका थिए।













