‘शार्क ट्याङ्क नेपाल’ को पहिलो सिजनको तेस्रो एपिसोडमा ९० लाख रुपैयाँ बराबरको डिल भएको छ। बुधबार प्रसारण भएको तेस्रो एपिसोडमा २ उद्यमसँग शार्कहरुले ९० लाखको डिल गरेका हुन् ।
पहिलो सिजनका लागि आईएमई ग्रुपका सहसंस्थापक हेमराज ढकाल, अग्नी ग्रुपका संस्थापक क्याविनेट श्रेष्ठ, बैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह बैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पद्दम ज्योति ग्रुपका निर्देशक शौरभ ज्योति रहेका शार्कका रुपमा अनुवन्ध छन् ।
तेस्रो एपिसोडमा क-कसले लगानी पाए, कसले पाएनन् ?
१. जतिस एग्रो फुड प्रोडक्ट
जतिस एग्रो फुड प्रोडक्टका संस्थापक विरेन्द्र जतिस हुन् । उनको कम्पनीले टाइचिन धान खरिद गरेर त्यसबाट चिउरा उत्पादन गरेर बेच्दै आएको छ। आफ्नो व्यवसाय विस्तार गर्नको लागि जतिस एग्रो फुडले १० प्रतिशत शेयरको लागि १ करोड रुपैयाँको लागि शार्कसँग माग गरेका थिए। तर कोहि पनि शार्कहरुले त्यसमा लगानी गर्न चाहेनन् । यद्यपि अन्य सहयोग भने गर्ने प्रतिवद्दता केही शार्कहरुले जनाएका छन् ।
२. मुन वेक
मुन वेकका संस्थापक आकृति जलान र मोहित धनवा हुन् । उनीहरु दम्पती हुन् । उनीहरुले मुन वेकको ब्रान्डमा विभिन्न सौन्दर्य सामग्री उत्पादन तथा बिक्री गर्दै आएका छन् । उनीहरुको आफ्नै फ्याक्ट्री रहेको छ। उनीहरुले आफ्नो व्यवसाय विस्तारको लागि १० प्रतिशत शेयरको बदलामा १५ लाख रुपैयाम माग गरेका थिए ।
जसमा शार्क ऋतु सिंह वैद्यले ३० प्रतिशत शेयरको बदलामा ३० लाख दिने प्रस्ताव गरेकी थिईन् । शार्क हेमराज ढकालले २० प्रतिशत शेयरको बदलामा ४० लाख दिने प्रस्ताव गरेका थिए। शार्क क्याबिनेट श्रेष्ठले ४० प्रतिशत शेयरको बदलामा ६० लाख दिने अफर गरेका थिए।
जसमा आकृति जलान र मोहित धनवाले १५ प्रतिशतभन्दा धेरै शेयर दिन नसक्ने बताएका थिए । क्याबिनेट श्रेष्ठ र हेमराज ढकालले १५ प्रतिशत शेयर मात्र नलिने बताए। शार्क ऋतु सिंह वैद्यले अर्को प्रस्ताव गर्दै २० प्रतिशत शेयरको बदलामा ३० लाख दिने प्रस्ताव गरिन्, साथै यदि कम्पनीले भविष्यमा फेरि फण्ड जुटाउने भए आफुले नै हाल्ने उनको शर्त थियो। आकृति जलान र मोहित धनवाले शार्क ऋतु सिंह वैद्यको प्रस्ताव स्वीकार गरे र ३० लाख रुपैयाँ पाए । यो ऋतु सिंह वैद्यको पहिलो डिल पनि हो।
३. नेपाल आयुर्वेदा
नेपाल आयुर्वेदाको फाउण्डर डा. विजेन्द्र शाह हुन् । उनले आयुर्वेदमा आधारित स्वास्थ्य सम्बन्धि सामग्री उत्पादन तथा बिक्री गर्दै आएको छ । उनले नेपाल मै उपलब्ध जडिबुटीहरुलाई प्रशोधन गरेर विश्व बजारमा लान सकेमा ६ हजार मिलियन डलर ल्याउन सकिने बताए। उनले शार्कहरुसँग १५ प्रतिशत शेयर दिने गरि ३ करोड रुपैयाँ माग गरेका थिए। उनको व्यवसाय धेरै सुरुवाती चरणमा रहेको, धेरै क्षेत्रमा आवद्द रहेको, भ्यालुएसन धेरै भएको लगायतको कारण देखाउदै उनको प्रस्ताव शार्कहरुले मानेनन् र उनले डिल पाएनन् ।
४. नेल अर्थोटिक्स
ब्रमण देव शर्मा, सलिन शर्मा र सल्जा शर्मा यसको संस्थापकहरु हुन्। यो कम्पनीले अर्थोटिक्स सामग्री उत्पादन गर्दै आएका छन् । हाड जोर्नीका समस्या भएकाहरुले अर्थोपेडिक्स उत्पादन प्रयोग गर्छन् । उनीहरुले आफ्नो उत्पादनले छालालाई हानी नगर्ने बताएका छन् । कम्पनीको मुख्य उत्पादन भनेको पटुकी रहेको छ, जुन शल्यक्रिया गरेर बच्चा जन्माएका आमाहरुलाई लक्षित गरेर बनाईएको हो।
उनीहरुले १० प्रतिशत शेयरको ४० लाख रकम माग गरेका थिए। शार्क हेमराज ढकालले २० प्रतिशत शेयरमा ४० लाख दिने प्रस्ताव गरेका थिए। शार्कहरु सौरभ ज्योति र क्याबिनेट श्रेष्ठले पनि संयुक्त रुपमा २० प्रतिशत शेयरमा ४० लाख दिने प्रस्ताव गरेका थिए। नेल अर्थोटिक्सले ३ जना नै शार्कले लगानी गर्ने गरि ३० प्रतिशत शेयरको लागि ६० लाख रकमको प्रस्ताव गरेको थियो। जुन शार्कहरु हेमराज, क्याबिनेट र सौरभले स्वीकार गरे र नेल अर्थोटिक्सले ३० प्रतिशत शेयरको लागि ६० लाख रकम पायो ।
यस अघि : पूर्व सांसद शान्ताको शार्क ट्यांक यात्रा: डिल नपाए पनि पाईन् सहयोगको वाचा र सम्मान
शार्क ट्याङ्क: मेरो कोडिङले पायो १ करोड २ लाख, सबको फोनद्वारा २ करोडको अफर रिजेक्ट
शार्क ट्यांकको पहिलो एपिसोडबाटै उद्यमीले लगे ४ करोड २० लाख, कसले कति पाए ?













