विद्युत विकास विभागले बुट मोडलमा ३ वटा हाइड्रोपावर आयोजना निर्माण गर्नको लागि कम्पनी सर्टलिस्ट गरेको छ। विभागले आशयपत्र माग गर्दा परेका आवेदनहरु मध्येबाट कम्पनी सर्टलिस्ट गरेको हो।
विभागले ४७ मेगावाटको दुधकोशी ४ जलविद्युत आयोजना, ३०.२ मेगावाटको लोअर होंगु जलविद्युत आयोजना र ४०.८ मेगावाटको संखुवा खोला जलविद्युत आयोजना निर्माण गर्नको लागि आशयपत्र माग गरेको थियो। विभागले आशयपत्रहरु मध्येबाट हरेक आयोजना निर्माणको लागि ३-३ कम्पनी गरि कुल ९ कम्पनी सर्टलिस्ट गरेको हो।
जस अनुसार ४७ मेगावाटको दुधकोशी ४ जलविद्युत आयोजना निर्माणको लागि भ्योमा हाइड्रोपावर लिमिटेड तथा सानिमा मिडिल तमोर हाइड्रोपावरको संयुक्त जेभी कम्पनी, सुपर मादी हाइड्रोपावर र बलेफी हाइड्रोपावर सर्टलिस्टमा परेका छन् ।
३०.२ मेगावाटको लोअर होंगु जलविद्युत आयोजना निर्माणको लागि श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, रिभान्ता हाइड्रोपावर प्रालि तथा माउन्टेन इनर्जी प्रालिको संयुक्त जेभी कम्पनी र सिंगटी हाइड्रो इनर्जी लिमिटेड सर्टलिस्टमा परेका छन् ।
त्यस्तै ४०.८ मेगावाटको संखुवा खोला जलविद्युत आयोजना निर्माण गर्नको नोबेल ग्रुप अफ हाइड्रो इनर्जी तथा पिपुल्स हाइड्रोपावर कम्पनीको संयुक्त जेभी कम्पनी, लिबर्टी इनर्जी लिमिटेड र ग्लोबल अहाइड्रोपावर एसोसिएट सर्टलिस्टमा परेका छन् ।
सर्टलिस्टमा परेका मध्ये सानिमा मिडिल तमोर हाइड्रो, बलेफी हाइड्रो, सुपर मादी हाइड्रोपावर लिमिटेड, श्वेत गंगा हाइड्रोपावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, र पिपुल्स हाइड्रोपावर कम्पनी शेयरबजारमा सूचीकृत रहेका कम्पनी हुन् ।
अब सर्टलिस्टमा परेका कम्पनीले विभागमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नु पर्ने छ। त्यसको लागि साउन २२ गते दिउँसो १२ बजेसम्मको समय तोकिएको छ। साउन २२ गते दिउँसो १ बजे प्राविधिक प्रस्ताव खोलिने छ। त्यसपछि प्राविधिक प्रस्तावको मुल्यांकन गरिने छ। जसमा प्रविधिक क्षमतालाई अधिकतम ४५ अंक, वित्तीय क्षमतालाई अधिकतम ३५ अंक र अनुभवलाई अधिकतम २० अंक प्रदान गरिने छ। प्राविधिक प्रस्ताव योग्य हुनको लागि कम्तिमा ६० अंक प्राप्त गर्नु पर्ने छ। त्यसपछि मात्र आर्थिक प्रस्ताव खोलिने छ।
विभागका अनुसार ५०.५ मेगावाटको बेनी कालिगण्डकी जलविद्युत आयोजना र ६१.०२ मेगावाटको हुम्ला कर्णाली जलविद्युत आयोजनाको लागि कुनै पनि आशयपत्र नपरेपछि यी आयोजनाको लागि ठेक्का प्रक्रिया नै रद्द गरिएको छ। त्यस्तै तोकिएको भन्दा कम आशयपत्र परेपछि २१.४ मेगावाटको इन्खु खोला जलविद्युत आयोजना, ६५ मेगावाटको कालिगण्डकी अपर हाइड्रो पावर लिमिटेड र ४९.५ मेगावाट लोती कर्णाली जलविद्युत आयोजनाको लागि पनि ठेक्का प्रक्रिया रद्द गरिएको छ।









