गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कम्पनीले यसै वर्ष लाभांश दिने बताएका छन् । आज आयोजित कम्पनीको आईपीओ बाँडफाँड कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
सीइओ भण्डारीले कम्पनीको वित्तीय अवस्था राम्रो रहेकोले चालु आर्थिक वर्ष २०८१/८२ कै मुनाफाबाट कम्पनीले लाभांश दिने बताए। उनले कम्पनीको अवस्था राम्रो रहेकोले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे।
कम्पनीको आईपीओ आज बाँडफाँड भएको हो । बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो।
क्यापिटलका अनुसार यस आईपीओमा कुल १८ लाख ३० हजार ८ सय ७५ जनाको आवेदन परेको थियो। जस मध्ये ८ हजार ४ सय ५२ जनाको आवेदन रद्द भएको छ। माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १८ लाख २२ हजार ४ सय ५ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ।
जस अनुसार गोलाप्रथाबाट १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । कम्पनीको आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।
कम्पनीले पुस २१ गतेदेखि पुस २४ गतेसम्म आम सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मङ्सिर ७ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो । बोर्डले कम्पनीलाई कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो। जस मध्ये २ लाख २५ हजार कित्ता श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि , ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि , र बाँकि रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणको लागि छुट्याईएको थियो ।












