काठमाडौँ भित्रिने प्रमुख मार्गको रुपमा रहेको पृथ्वी राजमार्ग पूर्ण रुपमा ठप्प भएपछि ग्यास बुलेटलाई काठमाडौँ आउँन समस्या भएको छ। यो सडक ठप्प भएपछि वैकल्पिक व्यवस्था गरेर काठमाडौँ र आसपासका जिल्लाहरुमा ग्यास ल्याउने तयारी छ ।
सडक ठप्प भएपछि खाना पकाउने ग्यास ढुवानीको सम्बन्धमा आज नेपाल आयल निगम र उद्योगीहरुको छलफल भएको छ । छलफलले वैकल्पिक व्यवस्था गरेर काठमाडौँ र आसपासका जिल्लाहरुमा ग्यास ल्याउने सहमति गरेको हो ।
सहमति अनुसार काठमाडौं तथा आसपासका जिल्लाहरुमा एल. पि. ग्यास सिलिण्डर बिक्री वितरण गर्ने ग्यास उद्योगहरुले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी र पर्सा जिल्ला रहेका ग्यास उद्योगहरु तथा आफुलाई पायक पर्ने अन्य जिल्लाका ग्यास उद्योगहरुसँग समन्वय गरी ति उद्योगहरुमा आ-आफ्ना बुलेट खाली गराइ सिलिण्डर रिफिल गर्ने छन् ।
कृष्णभिरको बाटो नखुले सम्म ट्रकहरुमा एल. पि. ग्यास सिलिण्डर राखी बैकल्पिक बाटोहरुबाट काठमाडौँ उपत्यका तथा आसपासका जिल्लाहरुमा एल. पि. ग्यास आपूर्ति गरी बिक्री वितरणको व्यवस्था मिलाउने सहमति भएको छ ।
बाटो सूचारु नहुन्जेल सम्मको लागि सुरक्षा तथा अति आवश्यक क्षेत्रका लागी आवश्यक पर्ने ग्यास धादिङ्ग, चितवन, मकवानपुर, बारा, पर्सा, काठमाडौं तथा काभ्रे जिल्लामा रहेका ग्यास उद्योगहरुले कम्तिमा १८ मे.टन रिजर्भमा राख्ने सहमति पनि भएको छ ।
कृष्णभीर लगायतका स्थानमा बाढीका कारण सडक भासिएपछि काठमाडौँको लाइफलाइन मानिने यो मार्ग पूर्णरुपमा ठप्प बनेको हो। अत्यावश्यक सामग्रीहरु काठमाडौँ ढुवानी गर्नको यो नै प्रमुख मार्ग हो। यो सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन आवतजावत गर्ने गरेका छन्।
कतिपय स्थानमा सडक नै पुरै बगेकोले यो बाटो कहिले संचालनमा आउँछ भन्ने यकिन छैन ।











