स्ट्रेट अफ हर्मुज (हर्मुज जलडमरु) मा जारी तेल संकटका बीच इरानले समुद्र मुनि रहेका इन्टरनेट केबल काट्ने धम्की दिएको दाबी सहितको चर्चा सामाजिक संजालमा चलेका छन्। तर अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार इरानले आधिकारिक रूपमा त्यस्तो कुनै धम्की दिएको छैन।
तर मार्च २०२६ देखि सामाजिक सञ्जाल (विशेष गरी एक्स/ट्विटर) मा यसबारे व्यापक चर्चा भइरहेको छ। जसमा यदि खाडी देशहरूले अमेरिकी सेना राखे भने इरानले रेड सी र हर्मुज क्षेत्रका अन्डरसी फाइबर-अप्टिक केबल काट्ने चेतावनी दिएको दाबी गरिएको छ। यो धम्की इरानको “प्रतिशोध” को रूपमा उल्लेख गरिएको छ।
हर्मुज जलडमरु र पर्सियन गल्फ क्षेत्रमा महत्वपूर्ण अन्डरसी केबलहरू छन्। यी केबलहरू मुख्य रूपमा ओमानको पानीमा बिछ्याइएका छन् । मुख्य केबलहरूमा AAE-1 (एशिया–अफ्रिका–युरोप–१), FALCON, Gulf Bridge International (GBI), Tata TGN-Gulf, २Africa Pearls लगायत रहेका छन् । यी केबलहरू युरोप, मध्यपूर्व, एशिया र अफ्रिकाबीच इन्टरनेट ट्राफिकको ठूलो हिस्सा बोक्छन्। रेड सीमा झन् धेरै अर्थात् १७ भन्दा बढी केबल छन्।
अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार इरानले वास्तवमा केवल काट्छ कि काट्दैन भन्ने अनुमान गर्न गाह्रो छ। इरानसँग नौसेना र ड्रोनमार्फत केवल काट्न सक्ने क्षमता छ ।तर यसले इरान आफैंलाई पनि असर गर्छ किनकि केही केबलहरू इरान, इराक, कुवेत जस्ता देशहरूसँग जोडिएका छन्। पूर्ण रूपमा केवल काट्ने भनेको ठूलो जोखिम हुन्छ, यसले विश्वव्यापी आर्थिक संकट निम्त्याउन सक्छ।
साथै विश्व कै इन्टरनेटमा प्रभाव पर्छ। यी चोकपोइन्टहरू (हर्मुज + रेड सी) मुनि रहेको केवलले विश्वको इन्टरनेट ट्राफिकको करिब १७–२५ प्रतिशत ओगट्ने बताईएको छ। केवल काटिएमा एशिया–युरोप–मध्यपूर्व–अफ्रिका बीच ठूलो ढिलासुस्ती हुने र स्पीड घट्ने बताईएको छ। भारत, पाकिस्तान, खाडी देशहरू, युरोप र अफ्रिकामा इन्टरनेटको स्पीड भने धेरै स्लो हुने छ। बैंकिङ, स्टक मार्केट, क्लाउड सेवाहरू, एआई इन्फ्रास्ट्रक्चर, कल सेन्टर, सरकारी सञ्चार ठप्प हुन सक्छन्। दैनिक ट्रिलियन डलरको डिजिटल ट्रान्जेक्सन प्रभावित हुन सक्छ।
यदि केवल काटिएमा युद्धका कारण रिपेयर जहाजहरू मर्मतको लागि जान सक्दैनन्। २०२४–२०२५ मा रेड सीमा केवल काटिदा महिनौं लगाएर मर्मत गर्नुपरेको थियो। अहिले हर्मुजमा माइन र हमलाको खतरा रहेकोले मर्मत “असम्भव” जस्तै हुन्छ ।
इरानले यस अघि कहिल्यै पनि त्यस्ता केवल कटेको छैन। तर इरानी–समर्थित हूती (येमेन) ले २०२४ र २०२५ मा रेड सीमा जहाज हमला गरेर एङ्करद्वारा ३ वटा केबल काटेका थिए। त्यसले भारत, पाकिस्तान, युएई, कुवेत आदि देशमा इन्टरनेट स्पीड भयंकर घटाएको थियो। २००६ ताइवान भूकम्पले ९ वटा केबल काटेर दक्षिण–पूर्व एशियामा संकट निम्त्याएको थियो।
इरानको आफ्नो इन्टरनेट पनि यी केबलमा निर्भर रहेकोले इरानले केवल काट्नु “आत्मघाती” हुन सक्छ। यदि केवल काटेमा यो संकट तेल संकटभन्दा बढी “डिजिटल संकट” बन्न सक्छ — किनकि इन्टरनेट बिना आधुनिक अर्थतन्त्र चल्दैन।विश्लेषकहरूका अनुसार यदि इरानले केबल काट्ने कदम चाल्यो भने यो “साइबर युद्ध” को नयाँ रूप हुनेछ, जसले विश्वव्यापी मन्दी निम्त्याउन सक्छ।













