माघ २७ गते मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै भएको बस दुर्घटनापछि बन्द रहेको अरनिको यातायात सेवा प्रा.लि. बस सेवा सुरु भएको छ । दुर्घटना पछि स्थानीयले अवरोध गरेको भन्दै कम्पनीले मन्थली हुँदै चल्ने बस सेवा रोकेको थियो । रोकिएको सेवा १५ दिनपछि सुरु भएको हो ।
बस सेवा रोकिँदा रामेछाप र ओखलढुङ्गाका स्थानीयहरु प्रभावित बनेका थिए ।
माघ २७ गते काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस तामाकोशी नदीमा खस्दा १५ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए । दुर्घटनामा ज्यान गुमाएका १५ जनाका परिवारलाई बीमा सुविधा बापत ५ लाख रुपैयाँ र काजक्रिया खर्च बापत १ लाख रुपैयाँ उपलब्ध गराउने कम्पनीले तयारी गरेको छ । तर, मृतकका आफन्तहरूले प्रति मृतक २५ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका कारण क्षतिपूर्ति रकमको विषयमा अझै सहमति हुन सकेको छैन ।
दुर्घटनामा घाइते भएका ८ जनाको उपचारको सम्पूर्ण जिम्मेवारी कम्पनीले नै लिएको छ ।












