Sunday, May 25, 2025
spot_img

निजी क्षेत्रलाई उत्साहित बनाउन नसकेको बजेट र मौद्रिक नीतिले सुल्झाउनुपर्ने विषय

spot_img
spot_img

हेमराज ढकाल

कोभिड–१९ पछि विश्व अर्थतन्त्रमै निकै उतारचढाव आएको छ । यसको प्रभाव नेपाली अर्थतन्त्रमा पनि प¥यो । नेपालकै छिमेकी देश श्रृलङ्कामा विदेशी मुद्राको सञ्चिति निकै कमजोर भएर एक महिनाको आयात पनि धान्न नसक्ने अवस्थामा पुगेको कुरा हामी सबैले थाहा पाएकै विषय हो । त्यतिबेला हाम्रो देशमा पनि विदेशी मुद्रा सञ्चिति चारपाँच महिनाको मात्रै आयात धान्न पर्याप्त छ भन्ने भएपछि राष्ट्र बैङ्क र सरकार आत्तिए । त्यो देखेपछि बाह्य क्षेत्रलाई व्यवस्थापन गर्न लाग्दा आयात रोक्ने लगायतका काम भए । यसका लागि आन्तरिक बजार माग साँघुरो बनाउने, ब्याजदर बढ्ने खालका नीति लिए भने बैङ्कले पनि खराब कर्जा बढ्ने भयो भनेर ऋणीहरुलाई च्याप्ने काम गरे ।

त्यतिबेला दुईचार वटा समस्या थिए । पहिलो कुरा बजारमा माग थिएन, माग नभएपछि उद्योगको उत्पादन भएन । पहिल्यै उत्पादन भएर उधारोमा बजारमा गइसकेको वस्तुको पनि उधारो उठेन । यसले रोजगारी र राजस्वमा प्रहार ग¥यो । यसरी ५०/६० वर्ष यताकै सबैभन्दा ठूलो प्रभाव नेपाली अर्थतन्त्रले ब्यहोर्नुप¥यो । सरकारले घोषणा मात्रै नगरेर हो, नत्र मुलुक आर्थिक संकटकै अवस्थामा गएको सत्य हो । अहिले पनि साना मझौला उद्योगहरु धेरै पलायन भएका छन् भने ठूला उद्योग व्यवसायहरु पनि भाग्न नमिल्ने भएर मात्रै टिकिरहेका छन् ।

साथै, अहिले पनि कृषि, पर्यटन लगायतका क्षेत्रले विगतमा पाउँदै आएको सहुलितपूर्ण ऋण पाइरहेका छैनन् । एकातर्फ निर्माण व्यवसायीहरुले पनि सरकारबाट काम सम्पन्न भएका आयोजनाको समेत भूक्तानी पाइरहेका छैनन् भने अर्कोतर्फ समग्र विकास बजेटको खर्च नै कम भइरहेको छ । यसले बजार चलायमान हुनबाट रोकिरहेको छ ।

बजारको यस्तो अवस्था रहेको बेला हामीले सरकारको साझेदार र एक हिसाबले भन्ने हो भने आर्थिक सल्लाहकारका हिसाबले नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट अहिले अर्थतन्त्रमा देखिएको असर सानोतिनो मल्हम लगाएर मात्रै निको हुँदैन, नीतिगत ‘सिफ्ट’ नै गर्नुपर्छ भनेर सल्लाह दियौँ । यसका लागि कर प्रणालीमा सुधार गरेर भारतमा ‘जीएसटी’ ल्याएजस्तै तहगत कर प्रणालीमा जानुपर्छ भन्ने हाम्रो सुझाव थियो । भन्सार महसुल पनि तयारी वस्तु र विलासीताका सामानमा बढी र कच्चा पदार्थमा कम हुनुपर्छ भन्ने थियो । उत्पादन बढाउने नीति लिँदा आयात प्रतिस्थापनमा सहजता हुँदै करको दायरा समेत बढेर जान्छ भन्ने सुझाव हामीले दिएका थियौँ । सँगै, क्रेडिट रिकभरी एक्ट (उधारो उठाउने कानुन) चाहिन्छ भनेर पनि भन्यौँ । कोभिड–१९ पछि विभिन्न देशले यसलाई कार्यान्वयनमा ल्याएका छन् । भारतमा पनि अभ्यास छ, बङ्गलादेश र श्रीलङ्काले पनि सुरु गरेका छन् । हामीले यो पनि चाहिन्छ भनेका थियौँ ।

हामीले यसपालि आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रमा ‘सिफ्ट’ हुने नीति सुधार लागि जोड गरेका थियौँ । उदाहरणका लागि विदेशबाट सामान ल्याउँदा आफ्नै पैसा ४ सय पठाउने, १ सय भन्सारमा राख्ने खालको अर्थतन्त्रले उन्नति हुँदैन । हामीबाट कार्पेट, गलैँचा, गार्मेन्ट, अलैँची, चियाजस्ता वस्तुको सानो मात्रामा मात्रै निर्यात भइरहेको छ । यसो भएको हुनाले हामीले जे जे आयात गर्छौँ, तीमध्ये यहीँ उत्पादन गर्न सम्भव भएका वस्तुहरु कम्तीमा स्वदेशी बजार माग धान्ने गरी उत्पादन गर्नुपर्छ । यसका लागि सरकारले सहजीकरण गर्ने वा सहुलियत दिने खालको नीति निजी क्षेत्रले चाहेको थियो ।
सँगै, आर्थिक संकुचनले नयाँ उद्योगहरुको विकास हुनसकेको छैन । साथै, रोजगारीका नयाँनयाँ अवसरहरु पनि सिर्जना हुन सकिरहेको छैन । जसका कारण हाम्रो देशका युवा जनशक्ति रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता छ । स्वदेशमै रोजगारीका अवसर बढाउनका लागि सरकारले ठोस योजना बनाओस् भन्ने हाम्रो सुझाव थियो । यी सुझावहरु यसपालि मात्रै होइन, अघिल्ला बजेटहरुमा पनि दिँदै आएकै विषय थिए ।

सरकारले बजेट ल्याउँदा आर्थिक सुधार समिति गठन गर्ने, कर प्रणाली सुधार गर्ने, कृषिमा लगानी दशक घोषणा गर्ने, २०८१/०८२ लाई सूचना प्रविधि दशको प्रस्थान वर्षका रुपमा लिने, देशका सम्भावित गन्तव्यहरुमा हिल स्टेशनको विकास गर्नेजस्ता कुराहरु गरेको छ । उत्पादन बढाउने र निजी क्षेत्रसँग सहकार्य कुरा पनि आएको छ । यी विषयहरु कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने शंका छँदैछ । हामीले जुन नीतिगत ‘सिफ्ट’को कुरा गरेका थियौँ, त्यो आउन सकेन । यसको अर्थ अहिले बजेटले भनेकै गतिमा जाँदा अर्थतन्त्र सुधार गर्न समय लाग्छ ।

हामीले भनेको जस्तो तहगत कर प्रणाली लागू गर्ने, उधारो उठाउने कानुन बनाउने, डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने लगायतका कुराहरु गरेको भए करदाताहरुको संख्या पनि बढ्थ्यो र राजस्व पनि बढ्थ्यो । यसबाट विकास आयोजनाहरुका लागि बजेट अभाव हुँदैनथ्यो । यसकारण बजेटमा केही सकारात्मक कुराहरु भएपनि समग्रमा निजी क्षेत्रले चाहेजस्तो आउन सकेन, यसकारण खासै उत्साहित हुनसक्ने अवस्था छैन ।

नीतिगत स्थिरताको प्रत्याभूति भएन
अबको हाम्रो आर्थिक नीति यो हो है भन्ने पनि बजेटले प्रष्ट पार्न सकेन । जबकि, हामीले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभामा सबै राजनीतिक दललाई एकैठाउँमा राखेर १० वर्षे आर्थिक नीति र योजना बनाउनुपर्छ भनेका थियौँ । सरकार फेरबदल हुनासाथ आर्थिक नीतिहरु पनि फेरिनु भएन भन्ने हाम्रो मुख्य कुरा थियो । जुन कुरा हुँदै भएन ।
साथै, अहिलेको बजेट पनि पूरानो ‘प्याटर्न’मै आयो । हरेक वर्ष भ्याट लाग्ने वस्तु बढाउने, करको सीमा बढाउनेजस्ता विगतका कुराहरुकै निरन्तरता भयो । अव्यावहारिक तवरबाट अन्तःशुल्क लगाइएको छ । चामल, दाल, गेडागुडी र गहुँमा २.५ प्रतिशतदेखि १० प्रतिशतसम्म अग्रिम आयकर भन्सारमै लगाइएको छ । यसले स्वदेशी खाद्य उद्योगहरुलाई निकै मर्का पर्छ ।

अन्तराष्ट्रिय सीमा खुला छ भन्ने कुरा हेर्दै नहेरी हामीले आन्तरिक उत्पादन महँगो हुने नीति लियौँ । यहाँ उत्पादित वस्तु महँगो हुने भएपछि आयात बढ्छ, अझ आयात पनि औपचारिक नभई अनौपचारिक रुपबाट बढ्छ । त्यसले भन्सार त छल्यो छल्यो, स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएर उद्योगहरु बन्द नै हुने जोखिम बढाएको छ । उदाहरणका लागि, विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै विदेशी मदिराको आयातमा प्रतिबन्ध लगाइएको थियो । तर, मदिरा पसलहरुमा रक्सीको कमी थिएन, चोरी पैठारीबाट आइरहेकै थियो । यसकारण आयात रोक्दैमा र करका दर बढी गर्दैमा हुँदैन । यसले झन् राजस्व मात्रै गुम्छ । विगत केही वर्षयता यस्ता अल्पकालीन कामहरु हुँदै आएका छन्, जुन मुलुकको अर्थतन्त्रका लागि फलदायी साबित हुन सकेका छैनन् ।

मौद्रिक नीतिले सुल्झाउनुपर्ने विषय
३ वर्षदेखिको मन्दी धान्दाधान्दै उद्योगहरुको चालु पूँजी शून्य भएको अवस्था छ । एकातिर उत्पादन छैन, तर उद्योगहरुले जसरी पनि बैङ्कको किस्ता तिर्नुपर्छ । यसलाई सहज बनाउन केन्द्रीय बैङ्कले कर्जा भूक्तानीका लागि कम्तीमा दुई वर्षको पुनर्तालिकीकरणको सुविधा दिनुपर्छ ।

नेपाल राष्ट्र बैङ्कलाई मौद्रिक नीतिका लागि हरेक वर्ष निजी क्षेत्रले सुझाव दिँदै आएका छन् । चालु पूँजी कर्जाको ‘क्याप’, सहुलियतपूर्ण ऋणको सीमा कम गर्नेजस्ता कुराहरुमा राष्ट्र बैङ्कले ध्यान दिनुपर्छ भन्ने लाग्छ । एकातर्फ लगानी बढाउने वातावरण नहुँदा र अर्कोतर्फ उत्पादन लागत बढ्न जाँदा हामीले भारत र चीनजस्ता ठूला देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था छ । लगानी स्थिर हुँदा वा घट्दा उत्पादन क्षमतामै ह्रास आउँछ । यसकारण केन्द्रीय बैङ्कले उद्योगको उत्पादन क्षमता बढाउने खालको नीति ल्याउनुपर्छ ।

हामीले सकेसम्म राष्ट्र बैङ्कबाट ब्याजदरमै स्थायित्व चाहेका छौँ । ब्याजदर क्रमशः घट्दै पनि छ । तर, अहिलेको अवस्थामा उद्यमी व्यवसायीहरुसँग घटेकै ब्याज तिर्ने क्षमता पनि छैन । यसकारण ब्याजदरमा एकल अंकमा पनि ७/८ प्रतिशतबाट माथि नजाने गरी स्थायित्व कायम होस् भन्ने हाम्रो सुझाव छ ।

अर्को जरुरी कुरा, राष्ट्र बैङ्कले चालु पूँजीको क्याप लगाएको छ, यसले साना तथा मझौला उद्योग व्यापारलाई संकटग्रस्तै बनाएको छ । यसकारण २५ करोडसम्मका कारोबार गर्ने साना तथा मझौला उद्योगहरुलाई चालु पूँजीको प्रावधान हटाइदिनुप¥यो । यसो भयो भने बजार फेरी चलायमान हुन्छ ।

साथै, अहिले ३ वर्षदेखिको मन्दी धान्दाधान्दै उद्योगहरुको चालु पूँजी शून्य भएको अवस्था छ । एकातिर उत्पादन छैन, तर उद्योगहरुले जसरी पनि बैङ्कको किस्ता तिर्नुपर्छ । यसलाई सहज बनाउन केन्द्रीय बैङ्कले कम्तीमा दुई वर्षको पुनर्तालिकीकरणको सुविधा दिनुपर्ने देखिन्छ ।

अर्को कुरा, ऋण लिएका तर ब्यापार खुम्चिएर तिर्न नसकेका ऋणीहरुका लागि १० देखि १५ प्रतिशत ब्याज तिरेर २ वर्षका लागि कर्जाको पुनर्तालिकीकरण गरिदिनुपर्छ भनेका छौँ । यसो हुँदा ऊ उत्पादनमा केन्द्रित हुन पाउँछ ।
बैङ्कमा पैसा थुप्रिएको भनिए पनि साँचो अर्थमा चाहिँ बैङ्कको ‘ल्याण्डिङ क्यापासिटी’ खुम्चिएको अवस्था छ । जति छ, त्योपनि निजी क्षेत्रले लिन चाहिरहेको छैन । वातावरण नदेखेर, नाफा नदेखेर र थप लगानी फस्ने देखेर निजी क्षेत्रले ऋण लिन नचाहेको हो ।

यसकारण हामीले बजार चलायमान बनाउने सहज खालको नीतिगत व्यवस्था होस् भन्ने चाहेका छौँ । यसको अर्थ बजारमा पैसा आउने वातावरण बन्नुपर्छ भन्ने हो । कहीँकतै बेथिति नै छन् भनेपनि त्यस्ता बेथितिलाई क्रमशः सुधार गर्दै लैजाने हो । झ्याप्पै रोक्न खोज्दा त्यसले अर्को दुर्घटना निम्त्याउने जोखिम हुन्छ ।

सँगै, बैङ्कहरुलाई आफ्नो ग्राहकसँग करोबार गर्न स्वतन्त्र छोडिदिनुपर्छ । यसको अर्थ ऋणीको विगत हेरेर, उसको क्षमता हेरेर उसलाई चालु पूँजी वा अरु कर्जाहरु दिन बैङ्कहरुले सहजै सकुन् । भन्नुको मतलब, अलि लचिलो र खुकुलो खालको नीति हुने हो भने कर्जा लगानी बढ्न गई अर्थतन्त्रमा सकारात्मक सहयोग गर्न मद्दत पुग्छ ।

अर्को कुरा, साना मझौला उद्योगहरुले अहिले प्रोत्साहन पाइरहेका छैनन् । उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने आजको आवश्यकता हो । उनीहरुलाई सहुलियत दिने, सहजै कर्जा पाउने वातावरण बनाउनेतर्फ राष्ट्र बैङ्कले ध्यान देओस् भन्ने हाम्रो सुझाव छ ।

हेमराज ढकाल नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुन् ।  यो लेख बिजनेश पाना त्रैमासिक म्यागेजिनको पहिलो अङ्कबाट साभार गरिएको हो । 

हेमराज ढकाल
हेमराज ढकालhttps://businesspana.com
उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img