Thursday, November 13, 2025
spot_img

‘स्टार्टअप कर्जा’ कार्यक्रमले नयाँनयाँ उद्यमी जन्माउन सहयोग गरेको छ (अन्तर्वार्ता)

spot_img

सरकारले ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ सुरु गरेको तेस्रो वर्ष सुरु भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेर बिनाधितो २५ लाखसम्म कर्जा पाउन सक्ने यस कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

३ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि प्राप्त गर्न सकिने ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अहिले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत कार्यान्वयनमा छ । कर्जा पाउन योग्य ठहर्‍याएका स्टार्टअपले राष्ट्रिय वाणिज्य बैंकमार्फत किस्ता किस्तामा कर्जा पाउँछन् । र, पाउँदै आएका पनि छन् ।

स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि कार्यान्वयनमा आएको २ वर्ष भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले बजेटमार्फत नै स्टार्टअप कर्जा कार्यक्रम अन्तर्गत ७३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

हामीले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्तासँग कुराकानी गरेका छौँ ।

स्टार्टअप उद्यम कर्जा कार्यक्रम अहिले प्रतिष्ठानबाट कार्यान्वयन भइरहेको छ । २ आर्थिक वर्षमा कति स्टार्टअपले कर्जा पाए ?

दुई आर्थिक वर्षमा जम्मा ७६५ वटा प्रस्तावले कर्जा पाएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा १६५ प्रस्तावकले कर्जा प्राप्त गरेका थिए ।

आर्थिक वर्ष २०८१/०८२ मा ६ सय प्रस्तावकले ८८ करोड बराबरको कर्जा प्राप्त गरेका छन् । पहिलो वर्षको तुलनामा दोस्रो वर्ष कर्जा प्राप्त गर्ने प्रस्तावकको संख्या निकै बढेको स्थिति छ ।

स्टार्टअप लोन पाउने प्रक्रिया के हुन्छ ? के कस्ता उद्यम व्यवसाय यस्तो कर्जा पाउन योग्य हुन्छन् ?

स्टार्टअप कर्जा पाउनका लागि विभिन्न योग्यता तथा मापदण्डहरु तोकिएका छन् । कार्यविधिमै यसबारे स्पष्टरुपमा खुलाईएको छ ।

कार्यविधि बमोजिम कर्जा प्राप्त गर्न उद्यम व्यवसाय दर्ता भएको १० वर्ष ननाघेको हुनुपर्छ, प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगको रूपमा उद्योग दर्ता गर्ने निकायमा दर्ता भएको हुनुपर्छ ।

उद्यम व्यवसाय स्थापना भएपछिको कुनैपनि आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रुपैयाँ नाघेको हुनु हुँदैन । सञ्चालित उद्यम व्यवसाय नगाभिई वा नटुक्रिई नयाँ उद्यम व्यवसायका रुपमा सुरु गरेको हुनुपर्छ ।

नवीन एवम् सिर्जनशील सोचलाई उद्यम व्यवसायको रूपमा रूपान्तरण गरी तीव्र वृद्धिको सम्भावना भएको पनि हुनुपर्छ भन्ने कार्यविधिमा नै उल्लेख छ ।

क्षेत्रगत रुपमा भन्दा, कृषि, सिँचाई तथा पशुपन्छीमा आधारित उद्यम, उत्पादनमूलक उद्यम, वन (जडीबुटी, वन पैदावार) मा आधारित उद्यम, पर्यटन प्रवद्र्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित उद्यम, विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा आधारित उद्यम, मानव स्वास्थ्य सेवासँग सम्बन्धित उद्यम र शिक्षा तथा शिक्षण सिकाईसँग सम्बन्धित उद्यमले कर्जा पाउन सक्छन् ।

सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित उद्यम, पूर्वाधार निर्माण कार्यसँग सम्बन्धित उद्यम, विद्युतीय सवारी साधन तथा अटोमोबाईलसँग सम्बन्धित उद्यम, परम्परागत तथा ग्रामीण प्रविधिसँग सम्बन्धित उद्यम, स्थानीय स्रोत तथा साधनमा आधारित उद्यम, सार्वजनिक सेवा प्रवाह, उत्पादन तथा सेवा प्रक्रियामा सुधारसँग सम्बन्धित उद्यम, खानी तथा खनिजको अनुसन्धान र विकाससँग सम्बन्धित उद्यम, घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने प्रकृतिका कार्यसँग सम्बन्धित उद्यम, वस्तु वा सेवाको वितरण प्रणालीसँग सम्बन्धित उद्यम, परम्परागत पेशा तथा उद्यमको पुनर्जागरणसँग सम्बन्धित उद्यम, खाद्य प्रविधि तथा पोषणसँग सम्बन्धित उद्यम र फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित उद्यम पनि कर्जा पाउन योग्य हुन्छन् ।

दुई वर्षको अनुभवले के देखाएको छ ?

दुई वर्षको अवधिमा हामीले पाएको अनुभवलाई संक्षेपमा प्रस्तुत गर्नुपर्दा, युवाहरुमा उत्साह बढेको छ । स्टार्टअप कर्जा कार्यक्रमले परम्परागत जागिरमुखी सोचभन्दा बाहिर निस्केर व्यवसाय तथा उद्यम गर्ने प्रेरणा जगाएको छ । दुई वर्षमा ७६५ जनाले कर्जा पाएका छन्, उनीहरुले विभिन्न उत्पादन र सेवामा आधारित उद्यम सुरु गरेका छन् ।

यस कार्यक्रमले नयाँ उद्यमी जन्माउन पनि भूमिका खेलेको छ । कृषि, सूचना–प्रविधि, पर्यटन, हस्तकला, सेवा व्यवसाय जस्ता क्षेत्रमा नयाँनयाँ स्टार्टअप सुरु भएका छन् ।

अर्को महत्वपूर्ण कुरा भनेको, सरकारले नियमनसहित संस्थागत गरेको कार्यक्रम भएकाले औपचारिकता र पारदर्शीता पनि बढाउन मद्दत गरेको छ । मूलतः यो दुई वर्षको हाम्रो अनुभवले आयात प्रतिस्थापन र रोजगारी सिर्जना गर्ने यात्रामा यस कार्यक्रमले सहयोग पुग्ने देखिन्छ ।

अहिले ऋण लिएर काम गरिरहेका उद्यमीहरुो प्रतिक्रिया कस्तो छ ?

नयाँ कार्यक्रम भएकाले कसरी सुरु होला भन्ने कौतुहलताका बीचबाट यो कार्यक्रम सुरु भयो । अहिले कर्जा लगेर काम गरिरहेका स्टार्टअप उद्यमीहरुले आफूले महत्वपूर्ण आधार भेट्टायौँ भन्ने गर्नुहुन्छ । पूँजीको कमी र अभावले अघि बढ्न नसकेका आफ्ना बिजनेश आईडियाहरुलाई अघि बढाउने बाटो खुलेकोमा उहाँहरु खुशी हुनुहुन्छ ।

कार्यक्रम अन्तर्गत कर्जा लगेर केहीले कृषि उद्योग, सेवा व्यवसाय वा प्रविधि क्षेत्रमा काम पनि सुरु गरिसकेको अवस्था छ । यसबाट बीउ पूँजीले उद्यम व्यवसाय अघि बढाउन ठूलो हौसला र प्रेरणा दिँदोरहेछ भन्ने उहाँहरुको अनुभव छ । त्यो अनुभव बेलाबखत सुनाउनुहुन्छ ।

अर्को कुरा, स्टार्टअपको रुपमा सरकारी सहुलियत कर्जा पाउँदा स्टार्टअप उद्यमीहरुमा हौसला पनि बढेको छ । यसअघि बैंकले धितो नपुग्ने भन्दै ऋण दिन अस्वीकार गर्दा रोकिएका योजना बिनाधितो सरकारबाट ऋण पाएपछि अघि बढाउन सजिलो भएकाले पनि हौसला बढाएको छ ।

महत्वपूर्ण कुराचाहिँ, सरकारले यति सहयोग गर्दा स्वरोजगार हुने क्रम त बढ्यो नै, साथसाथै रोजगारी सिर्जना पनि बढेको छ । साना–ठूला केही उद्यमहरूले स्थानीय युवालाई काम दिन थालेका छन् । यो निकै सकारात्मक कुरा हो ।

ऋण फिर्ता हुनपनि थालिसकेको होला । सहजै फिर्ता गर्न सकिरहेका छन् कि, केही असजिलो पनि परिरहेको छ ?

ऋण फिर्ता हुन थालिसकेको छ । अहिलेसम्मको अवस्था अर्थात् आर्थिक वर्ष २०८१/०८२ को तथ्याङ्क हेर्दा गत असार मसान्तसम्म २ करोड ३० लाख रुपैयाँ फिर्ता भईसकेको छ । ऋण लगेर फिर्ता गर्नुपर्ने समय सुरु भएपछि सहजरुपमा नै फिर्ता भइरहेको छ । क्रमशः अवधि पूरा भएको ऋण फिर्ता आउँदै पनि छ ।

(यो सामाग्री बिजनेशपाना म्यागेजिनको पछिल्लो अङ्कमा पनि प्रकाशित छ)

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर बन्यो डाबर नेपाल 

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको...

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुले होटल क्राउन इम्पेरियलमा सेवा लिँदा...

कामना सेवा विकास बैंकले मनायो वार्षिकोत्सव, नयाँ निक्षेप योजना सार्वजनिक

कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सव...

काठमाडौँमा अन्तर्राष्ट्रिय कर सम्मेलन हुँदै

नेपाल च्याम्बर अफ ट्याक्स कन्सल्टेन्ट्स (NCTC) ले काठमाडौँमा अन्तर्राष्ट्रिय...

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...
spot_img
spot_img
spot_img