स्वस्तिक लघुवित्तले साउन ३० गतेदेखि आम सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्दै छ । कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस निष्काशनमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ ।
यसै सन्दर्भमा बिजनेशपानाले कम्पनीको हालको अवस्था, भावी योजना, आईपीओको रकम प्रयोग, समग्र लघुवित्तको अवस्था लगायतका विषयमा स्वस्तिक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्रलाल कर्णसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश:
स्वस्तिक लघुवित्तको अहिलेको वित्तीय अवस्था र व्यवसायको समग्र अवस्था कस्तो छ ?
स्वस्तिक लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ वर्गको वित्तीय कारोबार गर्ने ईजाजतपत्र प्राप्त मधेश प्रदेशस्तरको लघुवित्त संस्था हो। यसले २०७५ चैत्र देखि सेवा विस्तार गरि हाल मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा र महोत्तरी गरि ४ वटा शाखा कार्यालय मार्फत ५ वटा जिल्लामा सेवा विस्तार गरेको छ।
वर्तमान अवस्थामा यस वित्तीय संस्थाले एघार हजार भन्दा बढी परिवारमा वित्तीय सेवा प्रदान गरिरहेको छ भने करिब पचास प्रतिशत भन्दा बढी ग्राहकले कर्जाको सेवा उपभोग गरिरहनु भएको छ । पछिल्लो समयमा ऋणी सदस्यको कर्जा सदुपयोगीतालाई प्राथमिकतामा राखी कर्जा लगानी गरिरहेको हुदाँ ऋणी प्रतिशत घटदोअवस्था देखिन आएको छ ।
पछिल्लो समयमा बजारमा कर्जा मागको अवस्था घटेको हुदाँ यस वित्तीय संस्थाले सोचे बमोजिम व्यवसाय विस्तार भने गर्न सकेको छैन तर पनि विगतको तुलनामा व्यवसायमा संकुचन भने आएको छैन ।
आईपीओबाट संकलित रकम कहाँ कहाँ लगानी हुन्छ ?
यस वित्तीय संस्थाले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । हामीले सोचे अनुसारको व्यवसाय विस्तार गर्न सकेका छैनौ जसको मुख्य कारण भनेको संस्थाको पुँजी पनि हो । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको व्यवसायिक पुँजीको न्युनतम सिमा नजिक नजिक हामी भएकोले व्यवसाय विस्तार गर्न सकेको थिएनौ । अब आईपीओ मार्फत संकलन हुने रकम पुँजीकृत हुने भएकोले हामीलाई व्यवसाय विस्तारको लागी ठूलो अवसर मिल्नेछ र वर्तमान समयमा बैंकहरुको ब्याजदर पनि घटेको हुदाँ यस अवसरमा हामी योजना अनुसार व्यवसाय विस्तार गर्नेछौ र योजना अनुसारकै लगानीकर्तालाई प्रतिफल दिने प्रयासरत रहने हाम्रो टिमको प्रतिवद्धता पनि रहेको छ । आईपीओबाट आएको सम्पूर्ण रकम वित्तीय संस्थाको नियमित लघुवित्त कारोबार एवं आर्थिक कारोबारहरु विस्तार एवं वृद्धि गर्न उपयोग गरिनेछ ।
नेपाल राष्ट्र बैंकले मर्जरको लागी पनि दबाव दिएको देखिन्छ, के छ योजना ?
हामी मर्जरको बिषयमा सकारात्मक नै छौ जसको प्रमाण हामी विगतमा मर्जर प्रक्रियामा गएका पनि हौँ तर विभिन्न कारणले मर्जर प्रक्रिया सफल हुन सकेन र डिर्मज हुन गयो । उक्त अवधिमा हामीले मर्जरबारे केही तिता अनुभवहरुपनि गरेका छौँ ।
अहिले सम्म मर्ज भएका कम्पनीहरुमध्ये अधिकांशमा कर्मचारी विवादको कुरा हामीले देखिरहेका छौँ । राम्ररी चलिरहेका कम्पनीहरु मर्ज भएर लगानीकर्ताको विवाद वा कर्मचारीको विवादले अहिलेको अवस्थामा कमजोर भएका पनि उदाहरणहरु छन् ।
हामीलाई नेपाल राष्ट्र बैंकबाट मर्जरको दवाव पनि दिएको छ । हाम्रो लागी मर्जर आवश्यकता पनि हो । अहिलेको अवस्थामा सानो पुँजीले ठुला पुँजी भएका कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न असहज नै हुन्छ । यो कुरा हामी व्यवस्थापन देखि संचालक समितिले पनि महशुश गरेकै कुरा हो र हामी विभिन्न कम्पनीहरुसँग औपचारिक अनौपचारिक तरिकाले मर्जरको विषयमा कुरा गरिपनि रहेका छौँ । कर्मचारी समायोजन तथा अन्य विषयवस्तु मिल्ने कम्पनी पाएमा हामी मर्जमा जान तयार छौँ ।
राष्ट्रियस्तरमा अपग्रेड हुने योजना छ ?
जीवनमा अपग्रेड कसले नचाहला र ! अवश्य पनि, हामी पनि चाहन्छौ स्वस्तिक लघुवित्त राष्ट्रियस्तरमा परिणत होस्।
तर वर्तमान नीतिगत व्यवस्थाको मातहतमा रहेर राष्ट्रियस्तरको संस्था हुन नसकिएला किनकी लघुवित्तलाई निर्धारीत पुँजीगत सिमा पुर्याउनको लागी हामीलाई हकप्रद शेयर चाहिन्छ जुन अहिलेको अवस्थामा सहज हैन । अव भविष्यमा त्यस्तो अवसर प्राप्त भएछ भने हामी पनि राष्ट्रियस्तरमा भने जान सक्छौँ ।
तर मेरो व्यक्तिगत बुझाईमा अहिलेको अवस्थामा प्रदेश स्तरका लघुवित्त संस्थाहरु राष्ट्रियस्तरमा परिणत हुनुभन्दा प्रदेशस्तरमै प्रभावकारी सेवाविस्तार गर्नु उपयुक्त हुन्छ । उदाहरणको लागि चैत्र मसान्त सम्मको विवरणलाई लिएर हेर्ने हो भने ५२ वटा लघुवित्त संस्था रहेको छ जसमध्ये ३ वटा थोककर्जा प्रदायक छन् भने बाकी ४९ वटा खुद्रा कर्जा प्रदायक हुन् । त्यस मध्ये ३६ वटा राष्ट्रियस्तरका र बाँकी प्रदेशस्तरका छन्।
अब अहिलेका ३६ वटालाई नै लिएर अनुमान गरौँ । सबै संस्थालाई व्यवसाय विस्तारको दवाव होला । हरेक स्थानमा ३६ वटा लघुवित्त संस्थाहरुले प्रतिस्पर्धात्मक सेवाविस्तार भयौँ भने लघुवित्त कार्यक्रमको उद्येश्य र गुणस्तरीयता कस्तो रहला ? वा यसको ५० प्रतिशत मात्रलाई पनि बिश्लेषण गर्ने हो भने पनि सेवाविस्तारको अवस्था कस्तो रहला ? तसर्थ मेरो बुझाईमा राष्ट्रियस्तरको संख्या बढाउनु भन्दा प्रदेशस्तरमा विभाजन गरि आवश्यकता अनुसार पुँजी कायम गरि कार्यक्रमको गुणस्तरमा जोड दिनु राम्रो हुन्छ। किनकी प्रदेशस्तरमा अहिले संस्थालाई समायोजन गर्ने हो भने प्रत्येक प्रदेशमा ७ वटा संस्था कायम रहला र पक्कै पनि एउटै क्षेत्रमा ३६ वटा संस्था भन्दा ७ वटा संस्थाको प्रतिस्पर्धात्मक सेवा विस्तार गुणस्तर हुन्छ होला ।
हामी सबैले अनुभव पनि गरिसकेको बिषय हो लघुवित्त संस्थाको संख्या बढि भएर सेवा गुणस्तर हुने भने होईन ।
लगानीकर्ताले कहिलेबाट लाभांशको अपेक्षा गर्न सक्छन ?
हामीले भर्खरै चौथौ त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरिसकेका छौँ । जसमा कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ९९ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा ९४.०४ प्रतिशतले बढेको छ। कम्पनीको वितरणयोय मुनाफा १ करोड २ लाख रहेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर रकम २९.६० रुपैयाँ रहेको छ ।
लाभांशको हकमा कम्पनीको संचालक समितिले निर्णय गर्ने र त्यसमा पनि लाभांशको दर विभिन्न नियमकीय व्यवस्था र निर्दशनमा भर पर्ने भएकोले अहिले नै कति लाभांश प्रदान गर्छ भन्न सकिन्न। तर संस्था वर्तमान अवस्थामा पनि लाभांश वितरण गर्न सक्ने अवस्थामा छ । वित्तीय विवरण संस्थाको सकारात्मक छ ।
अहिले लघुवित्त क्षेत्रमा देखिएका मुख्य समस्याहरु के के छन्? र यसका समाधानहरु के के हुन सक्छ ?
यो प्रश्नको जवाफ व्यक्ति अनुसार फरक फरक हुन सक्छ किनकी यो आफुले महशुस गर्ने कुरा हो ।
यद्यपि मेरो नजरियाले हेर्ने हो भने वर्तमान अवस्थामा आन्तरिक समस्याहरु, राजनीतिक समस्याहरु र नीतिगत समस्याहरु रहेको छन् ।
आन्तरिक समस्या
-कर्मचारी व्यवस्थापन: कर्मचारी पलायन, सिकाईमा कमजोरी, जागीरे प्रवृति, कार्यजिम्मेवारी प्रति दायित्व बोद्य नहुने जस्ता अन्य समस्याहरु देखिएको छ सामाधानको लागी आवश्यक कार्यहरु भईरहेको अवस्था छ ।
-व्यवसाय विस्तार: विगतमा कर्जा सुचनाको अभाव तथा कर्मचारीगत र संस्थागत कमजोरीको दुरुपयोग गरि कर्जा उपभोग गरेका सदस्यहरुले कर्जाको समेत दुरुपयोग गरेको कारण वर्तमान समयमा कर्जा असुलीमा विभिन्न किसिमका समस्याहरु देखिएकोले हाल सेवा विस्तारमा थप चुनौतीहरु देखिन आएको र कर्मचारीसाथीहरु पनि विगतको कमजोरीहरुलाई सुधार गर्दे ऋणी र परियोजनाको उचित विश्लेषण गरि कर्जा लगानी गर्ने गरेको कारण व्यवसाय विस्तारमा कमि आएको देखिन्छ ।
अतः विभिन्न कारणवश व्यवसायमा सुस्तता आउनुपनि समस्या नै हो किनकी व्यवसायमा आएको सुस्तता अनुसारको खर्चमा भने सुस्सता देखिएको छैन ।
-ग्राहक सदस्यहरुको व्यवहार: ग्राहक सदस्यहरुमा नीतिगत ज्ञान भएतापनि व्यवहारमा लागु नगर्ने । जस्तै ः कर्जाको सदुपयोगीता, पासबुक व्यवस्थापन, कर्जा भुक्तानी, आर्थिक सुशासनको पालना नगर्ने ।
माथि उल्लेखित समस्याहरुको समाधान संस्थाहरुले आन्तरिक तवरबाट गर्न सकिन्छ । लघुवित्त संस्था एक वित्तीय कारोबार गर्ने संस्था भएको हुदाँ व्यवस्थापनमा कठोरता तथा पुरस्कृत व्यवहार हुन अति आवश्यक देखिन्छ र यि समस्या सामाधानको लागी कर्मचारीहरुको ऐक्यवद्धता भने अति आवश्यक हुने देखिन्छ ।
राजनीति तथा नीतिगत समस्या सम्बन्धमा हाम्रो नेपाल लघुवित्त बैंकर्स संघबाट सम्बन्धित निकायहरुमा प्रस्तावहरु पेश गरिरहेका छौँ ।
अन्त्यमा केही भन्न चाहन्नु हुन्छ ?
सम्पुर्ण नियामक निकायहरुले लघुवित्त संस्थालाई नजिकबाट नियाल्दै सुशासन कायमको लागी महत्वपुर्ण भुमिका निर्वाह गर्दै आईरहनु भएको छ, यसको हामी लघुवित्तकर्मी सदैव आभारी रहनेछौँ र आगामी दिनमा थप सहयोग प्राप्त गर्ने नै छौँ ।
साथै सम्पुर्ण लघुवित्त सेवाग्राहीलाई अनुरोध गर्छु कि आफुले उपभोग गरेको कर्जा ब्याज सहित भुक्तानी गर्नु यहाँहरुको नैतिक, धार्मिक र मानविय कर्तव्य हो। त्यसैले कसैको प्रलोभनमा नआई आफनो कर्जा भुक्तानी गरि असल ग्राहकको पहिचान कायम गर्नुहोस् । सेवा प्रदान गर्ने क्रममा लघुवित्त संस्था वा कर्मचारीसँग भएका कुनैपनि किसिमको कमिकमजोरी भएमा सम्बन्धित संस्थामा गुनासो गर्नुहोस् त्यहाँबाट सुनवाई नभएको खण्डमा नेपाल राष्ट्र बैंकसँग गुनासो राख्नुहोस् र वित्तीय सेवा उपभोग गर्न र गराउन सहयोग गर्नुहोस् । वित्तीय संस्थाहरु साझा सम्पत्ति हुन वित्तीय संस्था रहे हाम्रो आर्थिक श्रोतको मुहान रहिरहन्छ ।












