गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा आगजनी गरिएको महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ। आन्दोलनका क्रममा भएको आगलागीबाट सुपरमार्केटको भवनमा ठूलो क्षति पुगेको थियो।
करिब ६ महिनासम्म मर्मत तथा पुनर्निर्माण कार्य सम्पन्न गरेपछि भाटभटेनी आजबाट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो। धार्मिक परम्परा अनुसार पुजासहित आजबाट स्टोरले सेवा दिन थालेको हो ।
खरानीको थुप्रोबाट उठ्दै छौँः मिनबहादुर
जीवनका कयौँ वर्ष लगाएर ठड्याइएका संरचना क्षणभरमै खरानी भएपछि मिनबहादुर यस बीचमा कयौपटक रोएका छन् । हजारौँ पटक भावुक भएका छन् । तर, सँगसँगै खरानीको थुप्रोबाट उठ्ने र अझ बढी योगदान गर्ने संकल्प पनि उत्तिकै गरेका छन् ।
‘अहिले म खरानीको थुप्रोमा उभिएको छु, यसबाट उठ्ने संकल्प र प्रयास गर्दैछु’ मिबहादुरले बिजनेश पानासँग भने, ‘मसँग काम गर्ने १० हजार जना मेरा परिवार हुन् । ग्राहक, उपभोक्ता र सद्भाव राख्ने लाखौँ लाख नेपालीहरु मेरा अफन्त र इष्टमित्र हुन् ।’
खरानीबाट उठेको यो पुनरागमन केवल व्यवसायको पुनःसञ्चालन मात्र नभई, आत्मविश्वास, श्रम र दृढताको पुनर्जागरण पनि भएको संचालक मिन बहादुर गुरुङले बताएका छन्। ‘भौतिक रुपमा हुने आक्रमण, तोडफोड र आगजनीले सम्पत्तिको नाश गर्छ, व्यक्तिलाई पनि निराश त बनाउँछ, तर मनोबल चाहिँ गिराउन सक्दैन’ गुरुङ भन्छन्, ‘अब भाटभेटेनी अझै सशक्त भएर अघि बढ्छ ।’
स्मरण रहोस्, भाटभटेनी सुपरमार्केट नेपाल सरकारलाई सबैभन्दा धेरै कर तिर्ने संस्था हो । वस्तु व्यापार व्यवसायतर्फ सबैभन्दा बढी आयकरमा भाटभटेनी सुपरस्टोर पहिलो नम्बरमा रहेको छ । हरेक वर्ष उत्कृष्ट करदाताका रुपमा सम्मानित हुँदै आएको भाटभटेनी आर्थिक वर्ष २०८१/०८२ को पनि शीर्ष करदाताका रुपमा गत मंसिर १ गते सम्मानित भएको थियो ।












