अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छानी छानी प्रतिशोध साध्ने नियतले अर्थ मन्त्रालयले कुनै पनि काम नगरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजका पदाधिकारीसँग आज भएको भेटमा मन्त्री वाग्लेले वर्षौदेखि अनुसन्धान भई अकाट्य प्रमाण फेला परेको अवस्थामा मात्र ग्रे लिस्टबाट मुलकलाई बाहिर निकाल्नको लागि सम्पत्ति सुद्धीकरणको अनुसन्धान अघि बढेको उनले प्रष्ट पारेका हुन् ।
अकाट्य प्रमाण फेला परेका केही सिमित पात्रमाथि मात्र अनुसन्धान अघि बढेको उनले बताए । यस अघि नै अनुसन्धान भएर अदालतमा मुद्दा पुग्नु पर्नेमा त्यसो नभएकोले ग्रे लिस्टबाट मुलुकलाई बाहिर निकाल्ने अभियान स्वरूप अनुसन्धान अघि बढेको उनले बताए।
उनले शेयरबजारमा सम्पत्ति सुद्धीकरणको छानबिन नगरेको र कहिल्यै पनि नहुने उल्लेख गरे। उनले शेयरबजार अरु भन्दा धेरै आधुनिक, र धेरै पारदर्शी रहेकोले व्यक्ति व्यक्ति छानेर कारोबार नियालेर अनुसन्धान नगरिने उनले बताए। तर कानून पालना नगरेको अवस्थामा भने छानबिन, अनुसन्धान र कारवाही सबै हुने उनले उल्लेख गरे।
इन्साइडर ट्रेडिङ गर्ने, म्यानुपुलेसन गर्ने, तथा धितोपत्र ऐन र समबन्धित नियमावली र विनियमावलीको पालना नगर्नेलाई कारवाही गरिने उनले प्रष्ट पारे। उनले लगानीकर्तालाई नआत्तिन र सबै क्षेत्र उठ्ने गरि अर्थतन्त्रमा आफुले ठूलो रिफर्म गर्न लागेकोले कम्तिमा बजेट आउँदासम्म धैर्य गरिदिन आग्रह गरे।













