पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट खातामा आएको छ। सिडिएससीले शेयर परेका लगानीकर्तालाई हिजो साँझ शेयर पठाएको हो।
अब यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ। कम्पनीको शेयर PCIL सिम्बलबाट कारोबार हुने छ ।
कम्पनीले फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म आम सर्वसाधारणलाई ४५ लाख कित्ता शेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले पुस ९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।
यो कम्पनी सन् २००९ मा स्थापना भएको हो। कम्पनीको फ्याक्ट्री नवलपरासीमा रहेको छ। कम्पनीले तानसेन ब्राण्डमा पीपीसी, ओपीसी र पीएससी सिमेन्टको उत्पादन तथा बिक्री गरिरहेको छ। कम्पनीमा आरएमसी ग्रुपको लगानी छ।













