दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले असार २४ गतेदेखि हकप्रदमा अवितरित र यस अघि लिलाम गर्दा बिक्री नभएका शेयर फेरी लिलाममा ल्याउने भएको छ। कम्पनीले सर्वसाधारण समूहको ९३ हजार ६ सय २९ कित्ता शेयर लिलाममा गर्न लागेको हो। कम्पनीको शेयरको लकइन अवधि गत असार ७ गत समाप्त भैसकेको छ।
यस लिलामी प्रक्रियाको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।
लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । इच्छुक लगानीकर्ताले असार ३२ गतेसम्म आवेदन दिन सक्ने छन् ।
काठमाडौँ भित्र सानिमा क्यापिटलको कार्यालय नक्सालबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने सानिमा बैंकको शाखाहरु विराटनगर, बिर्तामोड, बिरगंज, जनकपुर, भरतपुर, हेटौडा, पोखरा, बुटवल, घोराही, नेपालगंज, विरेन्द्रनगर, धनगढी, र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ । त्यस्तै गरिमा बैंकको बाग्लुंग शाखाबाट पनि आवेदन दिन सकिने छ।
कम्पनीले चैत्र १९ देखि वैशाख १४ गतेसम्म १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गरेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रदमा रितपुर्वक आवेदन दिने आवेदकलाई ८५ लाख ९५ हजार ९ सय २८ कित्ता शेयर बाँडफाँड गरिएको छ।
त्यसपछि बाँकि शेयर जेठ ११ देखि जेठ २० सम्म लिलाममा आएको थियो। त्यस समय बिक्री नभई बाँकि रहेको शेयर लिलाम हुन लागेको हो ।












