निर्माण सम्पन्न भएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको आज माघ १६ गतेदेखि परीक्षण सुरु गरिदै छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।
निर्माण सम्पन्न भएसंगै आजदेखि प्रसारणलाइनको परीक्षण गरिने भएको हो। त्यसका लागि बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेत जिल्लाको सुब्बाकुनामा निर्माण भएको सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत् प्रवाह गरिने छ। परीक्षणपश्चात् प्रसारण लाइन सञ्चालनमा ल्याइने भएकाले सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
त्यसक्रममा प्रसारण लाइनका टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावर वरिपरि नजान, गाईवस्तुलाई टावर नजिक जान नदिन, खतराका सङ्केत देखाइएका विद्युत्का संरचनालाई नछुन र बालबालिकालाई समेत टावर नछुन र नजिक जान नदिन आयोजनाले आग्रह गरेको छ । परीक्षणका क्रममा कुनै ठाउँमा झिल्का आएमा वा खतरा देखिएमा प्राधिकरण वा नजिकैको प्रहरीमा जानकारी दिन आग्रह गरिएको आयोजनाले जनाएको छ ।













