बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)का अध्यक्ष उपेन्द्र पौड्यालले बैंकहरुलाई हकप्रद निष्काशनको अनुमति दिन माग गरेका छन् । परिसंघको छैठौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले पुँजी पर्याप्तता सम्बन्धी नीति पनि बदलिँदो आर्थिक वास्तविकतासँगै विकसित हुन आवश्यक रहेको बताए।
नाफा र सम्पत्ति गुणस्तरमा अनिश्चितता बढिरहेको वर्तमान अवस्थालाई हेर्दा बैंकहरूलाई पुर्नपूँजीकरणका विकल्पहरूको खाँचो रहेको उनको भनाई थियो। यसैकारण उनले नीतिनिर्माताहरूलाई हकप्रद शेयर तथा मिश्रित वित्तीय उपकरण लगायतका वैकल्पिक पूँजी उपकरणहरूको लागि बाटो खोल्न आग्रह गरेका हुन्। यसले बैंकिङ क्षेत्रको पुँजी आधारलाई सुदृढ बनाउन मद्दत गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।
उनले अन्तर्राष्ट्रिय लगानीकर्ता र गैरआवासीय नेपालीहरू लाई नेपालका बैंक तथा वित्तीय संस्थाहरूको इक्विटीमा लगानी गर्न पाउने नीतिसहित प्रोत्साहित गर्न आवश्यक रहेको पनि उल्लेख गरे। यसले बैकिङ क्षेत्रमा दीर्घकालीन र दिगो लगानीको बाटो खोल्नुका साथै बैदेशिक लगात्री भित्र्याउनमा ठूलो टेवा पुग्ने उनले बताएका छन् ।












