नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र चीनिया काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड अटोमोबाइल सब काउन्सिल (CCPIT- Auto ) बीच सम्झौता भएको छ । नेपाल-चीन अटोमोबाइल व्यापार र सहकार्य प्रवर्द्धनका लागि तथा अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन सम्झौता भएको हो।
यो सम्झौताले नेपाल र चीन बीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवद्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने नाडाले जनाएको छ । व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलहरूको आदानप्रदान र नीति वकालत जस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको नाडाले उल्लेख गरेको छ ।
नाडाका अनुसार सम्झौता अन्तर्गत नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुचि राख्ने चिनियाँ व्यवसायीहरूलाई सहयोग गर्नेछ । साथै CCPIT-Auto ले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदान प्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिनेछ ।
यो साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिनेछ, जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिने नाडाले जनाएको छ । दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन् । यो सम्झौता दुवै देशका अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय सुरु गर्ने दिशामा ठोस कदम रहेको नाडाले उल्लेख गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको यही मंसिर १७ गते देखि २० गतेसम्मको औपचारिक चीन भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नाडा पनि चीन भ्रमणमा गएको छ। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधित्व गर्दै नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उप्रेती समेतको उपस्थितिमा नाडाको टिम भ्रमणमा रहेको छ ।













