काभ्रेको बनेपामा एक उपभोक्ता ग्यास सकिएपछि भौतारिँदै हिडिरहेका थिए । सहजै ग्यास नपाएको पीडामा उनी सरकारप्रति आक्रोशित सुनिन्थे भने ग्यास बिक्रेता र उद्योगीहरुप्रति पनि उनको गुनासो थियो । तर, एक जना दलालले ३ हजार रुपैयाँ दिने हो भने आफूले ग्यास ल्याइदिन सक्ने बताए । घरमा चुल्हो नबल्ने अवस्थामा पुगेका उनले अन्ततः ३ हजार तिरेर ग्यास लैजाने निधो गरे ।
काठमाडौँको सोह्रखुट्टेमा सानो होटल चलाइरहेकी अन्जना श्रेष्ठले आफ्नो खाजा घरमा ग्यासका दुइ वटा सिलिण्डर राखेकी थिइन् । एउटा सिलिण्डरको ग्यास सकिएपछि नयाँ जोड्थिन्, सकिएको सिलिण्डर साटेर अर्को भरी सिलिण्डर ल्याउँथिन् । यसरी ‘रोटेशन’ गरेर चलाउँदा उनलाई खासै समस्या पनि भएको थिएन । तर, अहिले साट्न पठाएको एउटा सिलिण्डर नआउँदै भान्छामा जोडेको अर्को सिलिण्डर पनि रित्तियो । त्यसपछि अहिले खाजा घर बन्द गरेर उनी ग्यासको खोजीमा निस्किएकी छिन् ।
अन्जनालाई ग्यास डिपो आसपास भेटिने व्यक्तिहरुले प्रतिसिलिण्डर २६ सय दिने हो भने आफूले ग्यास मिलाइदिन सक्ने बताइरहेका छन् । तर, उनी एउटा सिलिण्डरमै तोकिएको मूल्यभन्दा ५ सय बढी तिर्न तयार छैनन् । ‘मैले दुइ वटा सिलिण्डर भर्नुछ, दुइ वटा भर्दा तोकिएको भन्दा १ हजार बढी पर्ने भयो’ उनले हामीसित भनिन्, ‘म ठगिएँ भनेर उजुरी गरौँ भनेँ पछि समयमै ग्यास नल्याइदिएलान्, उजुरी नगरौँ जानाजान कसरी ठगिनु ?’
‘ग्यास लिन जाँदा एक महिना पछि आउनू भन्छन्’
काठमाडौँको बसुन्धरामा बसेर पढ्दै गरेका राजन घिमिरेको कोठामा एउटा मात्रै ग्यास छ । यसअघि ग्यास सकिनासाथ उनी डिलरकहाँ जान्थे, ग्यास लिएर आउँथे । तर, अहिले ग्यास सकिएको ९ दिन भइसक्दा पनि उनले पाउन सकेका छैनन् । ‘ग्यास साट्न जाँदा डिलरका दाइहरुले एक महिना पछि आउनु भनेर फर्काइदिनु भयो’ उनी भन्छन्, ‘म चार पाँच दिनदेखि ग्यास खोज्न डुलिरहेको छु, कतैपनि पाइएको छैन । सबैले छैन मात्रै भन्छन्, के खाएर बाँच्ने भन्ने टेन्सन भइसक्यो ।’
बुद्धनगरमा बसेर पढ्दै गरेकी आकृति लिम्बु पनि ग्यास नपाएर रनभुल्लमा छिन् । ट्राभल कम्पनीको गाडी चलाउने उनका बुबाले छोरीलाई उच्च शिक्षाका लागि काठमाडौँ ल्याएर राखेका थिए । बुबा प्रायः काठमाडौँ बाहिरै हुने भएकाले उनीहरुलाई एउटा भरी सिलिण्डर ग्यासले ३ महिनाभन्दा बढी समय पुग्थ्यो । तर, अहिले सकिएको ६ दिनसम्म पनि उनले ग्यास पाउन सकेकी छैनन् । बुबा पनि गाडी लिएर १२÷१३ दिनदेखि लुम्बिनी तिरै छन् । ‘ग्यास लिन गएको असोज १० गतेपछि आउनु भन्नुभएको छ, खाली सिलिण्डर डिलरमै छोडेर आएको छु’ उनले भनिन्, ‘ग्यास आइहाल्छ कि भनेर दिनकै म डिलर नजिकै गएर एक दुइ घण्टासम्म हेरेर बस्छु । दिनै डिलरलाई गएर सोध्दा आफैँलाई पनि अफ्ट्यारो ।’
अहिले उनी बुबाले छोडिएको केही पैसाले कहिले बाहिरै खाना खान्छिन् भने कहिले खाजाको भरमा बसिरहेकी छिन् ।
निगमको तथ्याङ्क र बजारको अवस्थाबीच किन मिलेन तालमेल ?
आयल निगमले बजारमा ग्यासको आपुर्ति सहज बनाउन तराईका जिल्लाबाट माग अनुसारको ढुवानी गरिरहेको जनाएको छ । सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा दैनिक ४० देखि ४५ हजार सिलिण्डर ग्यास खपत हुने गरेको र यो माग अनुसारको आपुर्ति भइरहेको निगमको तथ्याङ्क छ । निमगले वैकल्पिक मार्ग प्रयोग गरेर ३ दिनमा करिब ८८ हजार सिलिन्डर ग्यास काठमाडौँ भित्र्याएको पनि बताएको छ ।
तर, बजारमा अभाव र कालोबजारी एकैपटक चुलिँदा उपभोक्ता मारमा परेका छन् । उसैपनि २ हजार ६० रुपैयाँ प्रतिसिलिण्डर रहेको ग्यासको भाउ उद्योगीहरुले ढुवानी शुल्क बढेको भन्दै २१ सय ६५ रुपैयाँ तोकेर बिक्री गर्न आफ्ना डिलरहरुलाई उर्दी जारी गरेका छन् । यस्तो अवस्थामा उपभोक्तालाई सहज आपुर्तिको सुनिश्चितता गर्नुपर्नेमा आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साह खसीको मासुसँग ग्यासको मूल्य तुलना गरिरहेका छन् । काठमाडौँमा केही दिन अघि आयोजित कार्यक्रममा उनले १७ सय रुपैयाँ प्रतिकिलो पर्ने खसीको मासु किनेर खान सक्ने ग्राहकलाई ग्यासको भाउ महँगो नरहेको असान्दर्भिक तर्क पेश गरेका थिए ।









