विद्युत नियमन आयोगले भोटेकोशी बाढी प्रभावितको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ। नियमन आयोगका अध्यक्ष डा. राम प्रसाद धितालले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठमार्फत कोषमा सो रकम सहयोग गरेका हुन्।
उक्त रकम कोषमार्फत सञ्चालित उद्धार, राहत, पुनर्स्थापना तथा प्रभावित नागरिकको सहयोगसम्बन्धी कार्यक्रममा उपयोग हुने विश्वास आयोगले लिएको छ।
विनाशकारी बाढीका कारण रसुवा, गोरखा, नुवाकोट र धादिङलगायतका जिल्लामा भएको अकल्पनीय जनधनको क्षतिप्रति विद्युत नियमन आयोग गहिरो दुःख व्यक्त गरेको छ। यस विपद्बका कारण प्रभावित परिवार, बेपत्ता तथा घाइते नागरिक र आफ्नो घरबास तथा जीविकोपार्जनको आधार गुमाएका सम्पूर्ण व्यक्तिप्रति आयोगले हार्दिक समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेको छ।
यस विपद्को अवस्थामा प्रभावित क्षेत्रमा विद्युत् सेवाको सुरक्षा, निरन्तरता तथा यथाशीघ्र पुनर्स्थापनाका लागि सम्बन्धित विद्युत् उत्पादन, प्रसारण तथा वितरण संस्थासँग आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न प्रतिबद्ध रहेको आयोगले जनाएको छ। आयोगले क्षतिग्रस्त विद्युत् संरचनाको प्राविधिक अवस्था, जोखिम तथा पुनःस्थापनाको प्रगतिबारे आवश्यक विवरण उपलब्ध गराउन सम्बन्धित संस्थाहरूलाई अनुरोध गरेको छ।









