Sunday, August 30, 2026
spot_img
spot_img

बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीले भने “ढुक्क हुनुहोस्, पैसाको अभाव हुन दिनेछैनौँ”

spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण गरेका छन्। उनी शनिबार बिहानै नुवाकोटको सदरमुकाम विदुर पुगेका थिए।

विदुरमा उनले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमाण्ड पोस्ट’ पुगेर उद्धार तथा राहत वितरणमा भइरहेका कामहरूबारे जानकारी लिए। सो क्रममा उद्धार कार्यको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीपीडितको उद्धार र राहतमा प्रभावकारी रूपमा काम भइरहेको जानकारी दिए । उनले हराइरहेका मानिसहरूको जीवितै उद्धारलाई पहिलो प्राथमिकतामा राखेर बुधबारदेखि नै काम भइरहेको र शनिबारसम्म आइपुग्दा विभिन्न जलविद्युत् परियोजनाको सुरुङमा फसेका मानिसहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको बताए ।

उद्धारका साथसाथै विस्थापितलाई अस्थायी बसोबास, खाद्यान्न र अन्य प्रकारका राहत वितरणमा पनि केन्द्रबाट काम भइरहेको जानकारी उनले दिए । सोही क्रममा उनले बाढीग्रस्त क्षेत्रमा तत्काल ‘बेलिब्रिज’ आवश्यक रहेको बताए ।

अर्थमन्त्री डा. वाग्लेले उद्धार, उपचार र पुनर्स्थापनामा सरकारबाट पूर्ण साथ र सहयोग रहने भन्दै कुनै पनि कुराको अभाव महसुस नगर्न र कुनै पनि खालको सहयोगका लागि निर्धक्क भएर समयमै भन्न नेपाली सेनालाई आग्रह गरे । त्यसपछि अर्थमन्त्री वाग्लेले नेपाली सेनाको गौथली ब्यारेकमा रहेको हवाई उद्धार केन्द्र र राहत सामग्री सङ्कलन एवम् वितरण केन्द्रको निरीक्षण गरे । यसलगत्तै उनले नेपाली सेनाको उद्धार केन्द्रमा आफन्तजन खोज्दै आउनुभएका पीडित परिवारजनलाई भेटेर उनीहरूका समस्या सुने।

नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा आफ्ना परिवारका सदस्य फसेको भन्दै उनीहरूको उद्धारका लागि परिवारजनले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराए । सो क्रममा अर्थमन्त्रीले नेपाली सेनाबाट भएको ब्रिफिङ उद्धृत गर्दै सुरुङमा फसेका नागरिकको उद्धार उच्च प्राथमिकतामा रहेको भन्दै परिवारजनलाई उद्धार हुने कुरामा नेपाली सेना र अन्य सुरक्षाकर्मीमाथी विश्वास गर्न आग्रह गरे ।

त्यसलगत्तै अर्थमन्त्री वाग्ले बाढीले ध्वस्त भएको ढुङ्गे बजार पुगे। त्यहाँ भइरहेको उद्धार कार्यको अवलोकन गर्दै उनले पीडित परिवारसँग क्षतिको अवस्था र सरकारले गर्नुपर्ने कामबारे सुझाव लिए । तत्पश्चात् अर्थमन्त्री वाग्ले बाढीले क्षतिग्रस्त बनेको ऐतिहासिक देवीघाट बजार पुगे। त्यहाँ पुगेर उनले बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्दै पीडामा रहेका स्थानीयलाई भेटेर सरकार साथमा रहेको ढाडस दिए । सरकारले हराएका आफन्तको खोजी, राहत, उपचार र पुनर्स्थापनामा कुनै कसर बाँकी नराखेको र आगामी दिनमा पनि नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसपछि उनले गल्छी-रसुवागढी सडकखण्ड अन्तर्गतको देवीघाट र जिलिङ जोड्ने क्षतिग्रस्त पक्की पुल क्षेत्रको अवलोकन गरे । सँगै, उनले तल्लो पिपलटारमा रहेको आयुर्वेदिक केन्द्र र चन्द्रज्योति स्कुलमा रहेको होल्डिङ सेन्टर पुगेर देवीघाट बजारबाट उद्धार गरिएका स्थानीयहरूलाई भेटेर उनीहरूका समस्या सुने।

बाढीबाट बग्दै गरेको अवस्थामा उद्धार गरिएका स्थानीयहरूसँग भेटघाट गरेर उनीहरूको स्वास्थ्य अवस्थाबारे पनि अर्थमन्त्रीले जानकारी लिए । उनीहरूलाई थप स्वास्थ्य लाभको कामना गर्दै अर्थमन्त्री वाग्लेले सरकारले उचित पुनर्स्थापना गर्ने बताए । साथै, स्वास्थ्य उपचारमा खटिएको सशस्त्र प्रहरीको चिकित्सक टोलीसँग पनि भेट गरेर अर्थमन्त्री वाग्लेले स्रोतसाधनको उपलब्धताबारे जानकारी लिए ।

त्यसपछि अर्थमन्त्री डा.वाग्ले र सञ्चारमन्त्री डा बिक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वसँग विपद्पछिको उद्धार, राहत, उपचार र पुनर्स्थापनाको समन्वयका लागि छलफल गरेका छन्। जिल्ला समन्वय समितिको हलमा अर्थमन्त्रीको पहलमा बोलाइएको छलफलमा उनले केन्द्र सरकारबाट कुनै पनि खाले स्रोतको अभाव नहुने स्पष्ट पार्दै सबै जना एकजुट भएर विपद्पछिको प्रतिकार्यमा लाग्न आग्रह गरे । केन्द्र सरकारले सबैखाले स्रोत र साधन उपलब्ध गराउने भन्दै उनले आर्थिक स्रोतको अभाव हुन्छ कि भनेर नसोची जनतालाई विपद्‌मा कुनै पनि कुराको अभाव नहुने गरी काम गर्न आग्रह गरे ।

त्यसपछि उनी दिनभरको उद्धार, राहत र पुनर्स्थापना कार्यको अन्तिम सुरक्षा ब्रिफिङ हुने नेपाली सेनाको विदुर कमाण्ड सेन्टर पुगे । सो क्रममा विपद्पछिको उद्धारमा खटिनु भएका गृहमन्त्री सुदन गुरुङ,सञ्चार मन्त्री बिक्रम तिमल्सिना र नेपाली सेनाका उच्च अधिकारीहरूले गरेको ब्रिफिङ सुने । ब्रिफिङअनुसार अहिले जलविद्युत्को सुरुङमा फसेकाहरूको उद्धार उच्च प्राथमिकतामा छ। साथै, नेपाली सेनाको नेतृत्वमा जनपथ र सशस्त्र प्रहरीसहितको टोलीले मृतकको शव सङ्कलन र राहत वितरणलाई तीव्र पारेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

स्काईवेलको ‘नाडा अफर’ आजसम्म, यसपछि टेस्ट ड्राइभ सुरु हुने

स्काईवेल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘नाडा...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी पिडितका लागि ४ करोड १ लाख सहयोग

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी...

तोलामै ९५ सयले घट्यो सुनको भाउ

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला...

बाढी पीडितलाई १२ सय ५० सिलिण्डर ग्यास सहयोग

नेपाल एलपी ग्यास उद्योग संघले बाढी प्रभावितहरुका लागि १२...

आइएमई ग्रुपद्वारा बाढी प्रभावितको सहयोगार्थ १० करोड रुपैयाँ प्रदान

आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित...

ईयूले २० लाख युरो सहयोग गर्ने

युरोपियन युनियन (ईयू) ले भोटेकोशी बाढी प्रभावितका लागि भन्दै...