राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन’ सेवाको सुरुवात गरेको छ । बैंकले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।
कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्था बारे ग्राहकमा रहने जिज्ञासा तथा अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न बैंकले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याइएको जनाउँदै बैंकले यस प्रयास मार्फत कर्जा प्रक्रियालाई छिटोछरितो, झन्झटरहित र पारदर्शी बनाउने अपेक्षा गरिएको जनाएको छ ।
अनलाइन कर्जा आवेदनका लागी बैंकको आधिकारिक वेबसाइट www.rbb.com.np को शिरमा रहेको Quick Access अन्तर्गत रहेको Online Loan Application को लिङ्क क्लिक गरी RBB Xmart Lending Digital Loan Portal मा जानुपर्नेछ । उक्त पोर्टलमा दर्ता हुन इमेल, युजरनेम र पासवर्ड राखी User Registration मार्फत दर्ता गर्नुपर्नेछ । तत्पश्चात् आफ्नो नाम, सम्पर्क मोबाइल नं लगायत विवरण प्रविष्ट गरी प्राप्त निर्देशन अनुसार अगाडी बढ्नुपर्छ ।
Application Submitted भईसकेपछी सोको जानकारी ग्राहकलाई आउँछ र आवेदनको अवस्था Track Progress मा क्लिक गरेर हेर्न सकिनेछ । ग्राहकवर्गको सहजताको लागि अनलाइन कर्जा आवेदन पोर्टलको QR code समेत उपलब्ध गराईएको छ ।
अनलाईन कर्जा सेवाको लाभ उठाउन बैंकले आम नागरिक, व्यवसायी एवं सरोकारवाला सबैमा अनुरोध गरेको छ ।
२०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालयहरु मार्फत कर्जा, निक्षेप सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।









