एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख लगानी सुनिश्चित भएको छ । बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने क्रममा जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्दै रसुवा हाइड्रोपावर लिमिटेडसँग लगानी सम्झौता गरेको हो ।
सम्झौता अनुसार कम्पनीले रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा निर्माण गर्ने ७.२९ मेगावाट क्षमताको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्ने छ । उक्त समझदारी पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र रसुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष दीपक थापाले हस्ताक्षर गरेका छन् ।
यस जलविद्युत आयोजना दुई वर्षमा सम्पन्न गर्दै वार्षिक करिब ३८.७४ गिगावाट घण्टा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।












