नीभ कर्पोरेशन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्नको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।
उक्त सम्झौतामा नीभ कर्पोरेशन लिमिटेडको तर्फबाट अध्यक्ष यज्ञमुर्ति न्यौपाने र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका छन्। कम्पनीले प्रति शेयर अंकित मूल्य रु. १००।– दरको २५ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।
नेपालको कृषि तथा पर्यटन क्षेत्रमा आधुनिक, दिगो तथा स्थानीय पहिचानमा आधारित व्यवसाय सञ्चालन गर्ने उद्देश्यसहित वि.सं. २०७६ सालमा स्थापना भएको यस कम्पनीको केन्द्रीय कार्यालय तुलसीपुर, दाङमा रहेको छ भने सम्पर्क कार्यालय सोल्टीमोड, काठमाडौंमा रहेको छ । कम्पनीले हाल दाङ, नेपालगञ्ज तथा सुर्खेत आदि क्षेत्रमा स्थानीय संस्कृति, स्वाद, भेषभूषा तथा परिवेशलाई समेटेर होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको छ ।
कम्पनीले आतिथ्यता, कृषि र पर्यटनलाई समेट्ने एकीकृत अवधारणा सहित पूर्वको इलाम देखि कर्णालीसम्म र सुदुरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रहरु सहित गरी देशका २० भन्दा बढी स्थानमा आफ्नो व्यवसाय विस्तार गर्ने लक्ष्य अघि सारेको छ । स्थानीय स्रोत–साधन, सम्भाव्यता, भौगोलिक विविधता तथा प्राकृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कम्पनीले मुख्य रुपमा होटल तथा पर्यटन, आधुनिक कृषि र दिगो विकासका क्षेत्रमा कार्य गरिरहेको छ । होटल तथा पर्यटन क्षेत्र अन्तर्गत कम्पनीले स्थानीय मौलिकता, संस्कृतिको जगेर्ना र प्रवद्र्घन, आतिथ्य सत्कार तथा परम्परागत स्वादको संरक्षण र प्रवद्र्घन मार्फत आन्तरिक तथा ब्राह्य पर्यटनलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । त्यस्तै कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय कृषि उपज उत्पादन, भण्डारन, प्रशोधन तथा बजारीकरणका साथै कृषि पर्यटनको विकासमा जोड दिएको छ ।
दिगो तथा हरित विकासलाई प्राथमितामा राख्दै कम्पनीले शून्य कार्बन उत्सर्जन तथा कार्बन फुटप्रिन्ट न्यूनिकरणमार्फत वातावरणमैत्री व्यवसायिक अभ्यासलाई प्रवद्र्वन गर्ने उद्देश्य लिएको छ । स्थानीय उत्पादन, स्थानीय रोजगारी तथा स्थानीय संस्कृतिको संरक्षण मार्फत दीर्घकालीन आर्थिक तथा सामाजिक योगदान पुर्याउने लक्ष्य कम्पनीको रहेको छ ।
कम्पनीमा कृषि विज्ञ, पर्यटन विज्ञ ख्याति प्राप्त व्यवसायी, युवा उद्यमी, चार्टर्ड एकाउन्टेण्ट तथा अन्य विभिन्न पेशामा संलग्न प्रतिष्ठित व्यक्तिहरू रहेका छन् ।













