आज सोमबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै छ। बैठक साँझ ५:३० बजेको लागि बोलाईएको छ।
आजको बैठकमा स्पष्टीकरण सोध्ने एजेण्डा पनि रहेको बताईएको छ । अहिले सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा भट्टले ३ अर्ब ८१ करोड अनिमिताता गरेको देखिएको छ । विभागका अनुसार भट्टले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लगायतका विभिन्न कम्पनीहरुको शेयर खरिद गर्न हिमालयन रिइन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ, यसकै सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैंकरको २२ करोड १९ लाख रुपैयाँ, एचएलआई लार्ज क्याप फण्डको २५ करोड १४ लाख र नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको १६ करोड १७ लाख रकम दुरुपयोग गरेको देखिएको छ । उनले यी कम्पनीहरुको रकम दुरुपयोग गरेर ब्रोकर नम्बर ५५ भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत शेयर खरिद गरी भुक्तानी गरेको विभागको प्रारम्भिक अनुसन्धानले देखाएको छ । धितोपत्र बोर्डले यसमा संलग्न र आफ्नो क्षेत्राधिकार भित्र पर्नेहरुलाई स्पष्टीकरण सोध्न लागेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आजको बैठकमा धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ मा संशोधन गर्ने एजेण्डा पनि समावेश छ । नेप्सेले विनियमावली संशोधनको लागि बोर्डमा पठाएको थियो । जसमा नियमित कारोबार समय भन्दा बाहिर पनि शेयर खरिद बिक्रिको लागि अर्डर राख्न सकिने गरि आफ्टर मार्केट अर्डर समबन्धि व्यवस्था समावेश गरिएको छ । त्यस्तै अहिलेको सर्किट ब्रेकरको नियमलाई परिमार्जन गरेर सर्किट ब्रेक लाग्ने सीमा ४, ६, ८ प्रतिशत प्रस्ताव गरिएको छ । यसका अलावा हाल प्रि ओपन सेसनमा शेयर मूल्य २ प्रतिशतसम्म मात्र घटबढ हुन पाइने व्यवस्था परिमार्जन गरेर २ प्रतिशतसम्म घटबढ हुने मिल्ने गरि प्रस्ताव गरिएको छ । नेप्सेले पठाएको विनियमावलीमा बोर्डमा छलफल हुन लागेको हो ।
त्यस्तै आईपीओ स्वीकृतिको बारेमा पनि छलफल हुने बताईएको छ। चुनाव पछि अहिलेसम्म धितोपत्र बोर्डले कुनै पनि आईपीओ स्वीकृत गरेको छैन ।













