Saturday, April 4, 2026
spot_img
spot_img

‘मेला, महोत्सव र प्रदर्शनीलाई जिल्ला नगर र वस्तुगत संघको अधिकारका रुपमा स्थापित गर्न मेरो उम्मेदवारी’

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा हालका उपाध्यक्ष दुर्गाराज श्रेष्ठले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल वितरक संघको पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठ हाल नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको महासचिवसमेत हुन् ।

व्यसायिक सफलता र विभिन्न संघहरुमा सफल नेतृत्व गरिसकेका उनी नेपाल–माल्टा चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीको कार्यकारी सदस्य पनि छन् । श्रेष्ठले पोखरा विश्वविद्यालयबाट एमबीए सम्मको अध्ययन गरेका छन् । २०६२ सालदेखि व्यवसायमा संलग्न भएका उनीसँग हामीले चुनावी तयारी, एजेन्डा र बागमती प्रदेश भित्रका सम्भावनाका विषयमा कुराकानी गरेका छौँ ।

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा तपाईको उम्मेदवारी किन ?

म नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशमा दुइ कार्यकाल उपाध्यक्ष भएर उद्योगी व्यवसायीका हित संरक्षण र निजी क्षेत्रका माग र मुद्दाहरुमा केन्द्रित रहेर काम गर्दै आएँ । यस अवधिमा उद्योगी र व्यवसायी साथीहरुसँग सहकार्य गर्दै उत्पादक र वितरकबीच समन्वय स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल पनि भएँ ।

उद्योग वाणिज्य महासंघ भनेको नेपाल सरकारपछि सबैभन्दा ठूलो नेटवर्क भएको सशक्त संगठन हो । प्रदेश महासंघ भनेको महासंघको एउटा दह्रो र भरपर्दो अङ्ग मात्रै होइन, साना मझौला र सबै खालका उद्योगी व्यवसायीहरुको आशा र भरोसाको केन्द्र बन्नुपर्ने आवश्यकता छ । यसकारण मैले बागमती प्रदेश महासंघलाई थप सशक्त बनाउने उदेश्यका साथ अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।

उद्योगी व्यवसायीहरुका अपेक्षा पूरा गर्ने तपाईका एजेन्डा के छन् ?

प्रदेश महासंघ पनि छ है भनेर देखाउने र यस संगठनले उद्योगी व्यवसायीहरुका मुद्दा र विचार बोक्छ र प्रदेश सरकार र आवश्यक परेमा केन्द्र सरकारसँग समेत स्ट्रङ लविङ गर्न सक्छ भनेर प्रमाणित गर्ने मेरो मुख्य योजना छ ।

यसका साथै, मैले बागमती प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघहरु र यहाँका वस्तुगत संघहरु र एसोसियट सदस्यहरुको समस्या राम्रोसँग बुझेको छु । प्रदेश उद्योग वाणिज्य महासंघ, वस्तुगत संघहरु र जिल्ला नगर उद्योग वाणिज्य संघहरुको आर्थिक तथा व्यवसायिक क्षमता विकासमा सरकार र स्थानीय तहसँग समन्वय गर्नुपर्नेछ । जिल्ला नगर उद्योग वाणिज्य संघका लागि आम्दानीको प्रमुख स्रोतका रुपमा रहेका मेला महोत्सव जस्ता क्रियाकलापलाई स्थानीय तहहरुको तालिकामा नै समावेश गर्ने खालको मोडल बनाएर काम गर्ने सोच बनाएका छौँ ।

साना र मझौला व्यवसायीहरुले नापतौल र बजार अनुगमनका नाममा हैरानी खेप्नुपरिरहेको छ । यो समस्याको समाधानका लागि स्थानीय प्रशासनसँग दीर्घकालिन समझदारी बनाएर काम गर्नुपर्नेछ ।

साना मझौला उद्यम व्यवसायहरुलाई कर सहुलियत र व्यवसाय दर्तामा एकद्वार प्रणाली कायम गर्नुपर्ने आवश्यकता छ । शहर बजारमा उद्यम व्यवसाय डिजिटल फ्रेमवर्कभित्र गइसकेपनि दूरदराजमा अझैपनि डिजिटल सेवा प्रभावकारी रुपमा पुगिसकेको छैन । यसका लागि सम्बन्धित स्थानीय तहमार्फत उद्योग वाणिज्य संघहरुसँगको सहकार्यमा उद्यम व्यवसाय डिजिटल फ्रेमवर्कभित्र ल्याउने गरी काम गर्न नीतिगत रुपमै व्यवस्था गराउन पहल गर्नुपर्नेछ ।

एसएमईहरुलाई सहुलियतपूर्ण कर्जा र कर सहुलियत दिलाउने, साना र मझौला व्यवसायलाई कर र लेखा प्रणाली जस्ता विषयमा तालिम र प्रशिक्षण प्रदान गर्ने जस्ता विषयमा पनि हामीले काम गर्न चाहेका छौँ ।

यस्तै, प्रदेश महासंघको अहिले आफ्नै भवन छैन । मैले मेरै कार्यकालमा सुविधासम्पन्न भवन बनाउने अठोट लिएको छु । यसका लागि सबै जिल्ला नगर, वस्तुगत र एसोसियटका उद्यमी व्यवसायी साथीहरुको अमूल्य सहयोग प्राप्त हुने विश्वास पनि लिएको छु ।

निजी क्षेत्र भनेको सम्भावना देख्ने जात पनि भनिन्छ । तपाईले बागमती प्रदेशभित्र के कस्ता सम्भावना देख्नुभएको छ ? र, ति सम्भावनालाई मूर्त रुप दिन के कस्ता कार्यक्रम अघि सार्ने सोच्नुभएको छ ?

मैले अघि पनि भने, बागमती प्रदेशभित्रका सबै भूगोल र वस्तुगत एसोसियट सदस्यहरुको समस्या र सम्भावनाबारे म जानकार छु । मुलुकको राजधानी रहेको काठमाडौँ उपत्यका पनि बागमती प्रदेशभित्र पर्ने भएकाले देशको कुल आर्थिक कारोबारको ठूलो हिस्सा बागमतीले ओगट्छ । यो प्रदेशभित्र उच्च पहाडी भेगको जटिबुटी, कृषि र पर्यटनसम्म र समथर भू–भागमा हुने उत्पादनदेखि सेवा क्षेत्रसम्म अपार सम्भावना छन् । यीनको व्यवस्थित उपयोग गर्ने गरी आर्थिक तथा औद्योगिक नीति बनाउनका लागि हामीले प्रदेश सरकारलाई अनुरोध गर्ने र सहयोग गर्ने योजना बनाएका छौँ ।

साथै, बागमती प्रदेशभित्र घोषणा भएका औद्योगिक क्षेत्रहरुभित्र सहजै उद्योग खोल्न सक्ने वातावरण नहुँदा अहिले घोषणा भएका औद्योगिक क्षेत्रभित्र उद्योगहरु आउन सकिरहेका छैनन् । प्रस्तावित औद्योगिक क्षेत्रभित्र उद्योग खोल्दा कर तथा अन्य सेवासुविधामा सहुलियत दिलाउने प्रयत्न गर्नेछौँ ।

मयुरधाप औद्योगिक क्षेत्रभित्र सहजै उद्योगहरु स्थापना हुन सक्ने खालको वातावरण बनाउनुपर्नेछ । शक्तिखोर औद्योगिक क्षेत्र पनि पहिचान भएको छ, पूर्वाधार तयार नहुँदा उद्योगहरुले सम्भावना पहिल्याउन सकेका छैनन् । यी यावत विषयमा प्रदेश सरकारसँग गहन छलफल गरी नतिजा निकाल्ने काम नै मेरो प्रमुख प्राथमिकतामा छन् ।

प्रदेश महासंघ र प्रदेश भित्रका उद्योग वाणिज्य संघहरुलाई आत्मनिर्भर बनाउने तपाईका एजेन्डा के छन् ?

मैले माथि पनि भने, अहिले प्रदेश महासंघको आम्दानीको आफ्नै स्रोत निकै सिमित छ । जिल्ला नगर उद्योग वाणिज्य संघहरुले मेला महोत्सव आयोजना गरेपनि निजी क्षेत्रको मात्रै प्रायोजन र सहयोगमा गर्नुपर्दा कतिपय अवस्थामा घाटासमेत ब्यहोर्नु परिरहेको स्थिति पनि छ । वस्तुगत संघहरुको पनि खर्च बढी छ, आम्दानीमा सदस्यता शुल्क बाहेकको भरपर्दो विकल्प छैन ।

यसकारण प्रदेश महासंघको आफ्नै भवन हुनासाथ त्यसबाट आम्दानी हुन सक्छ । कतिपय अवस्थामा प्रदेश सरकारसँग सहकार्य गरेर विभिन्न कार्यक्रम आयोजना गर्न सकिन्छ । त्यो विकल्पमा पनि अब जानुपर्नेछ ।

मेला र महोत्सवलाई सम्बन्धित स्थानीय तहहरु र उद्योग वाणिज्य संघहरुको वार्षिक कार्यक्रम नै बनाउन सकियो भने त्यसबाट जिल्ला नगर उद्योग वाणिज्य संघहरुको आम्दानी स्थायी हुन सक्छ । मेला, महोत्सव र प्रदर्शनी भनेको उद्योग वाणिज्य संघ र वस्तुगत संघहरुको अधिकार हो भन्ने गरी स्थापित गराउने हामीले योजना बनाएका छौँ ।

यसका साथै, उद्यम व्यवसायहरुको दर्ता र नवीकरणमा समेत सम्बन्धित उद्योग वाणिज्य संघहरु निश्चित प्रतिशत हिस्सेदार बन्ने बाटो खोल्न नीतिगत प्रावधान नै लागू गर्न सकियो भने त्यो पनि अर्को विकल्प बन्छ । यसमा सम्बन्धित निकायहरुसँग समन्वय गरेर छलफल अघि बढाउँछौँ ।

वस्तुगत संघहरुको आम्दानी बढाउनका लागि उनीहरुमार्फत सम्बन्धित क्षेत्रको प्रदर्शनीहरु आयोजना गर्न सकिन्छ । यसले व्यवसाय प्रवद्र्धनसँगै वस्तुगत संघहरुको आम्दानीसमेत बढाउन मद्दत पुग्छ । यसरी आयमूलक र आत्मनिर्भर बन्ने विभिन्न उपायहरु पहिल्याउँदै हामी अघि बढ्नेछौँ ।

अन्तिममा, मतदाता उद्योगी व्यवसायीहरुलाई के भन्न चाहनुहुन्छ ?

मैले उद्योग व्यवसायमैत्री नीति निर्माणमा आफूलाई केन्द्रित गर्ने लक्ष्यका साथ बागमती प्रदेश महासंघको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । उद्योगी व्यवसायीका मुद्दाहरुलाई सरकारसमक्ष सशक्त रुपमा उठाउने मेरो प्रतिवद्धता छ । मैले बागमती प्रदेश महासंघलाई पर्याप्त समय दिन सक्छु, जिल्ला नगर, वस्तुगत र एसोसियट सदस्यहरुले मलाई खोज्नुपर्दैन, म आफैँ उहाँहरुलाई खोजेर पुग्नेछु ।

यसकारण बागमती प्रदेशका सम्पूर्ण उद्योगी व्यवसायी साथीहरुमा समृद्ध र सुदृढ व्यवसायिक वातावरण निर्माण गर्ने उदेश्यसहित उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा मेरो उम्मेदवारी रहेको कुरा अवगत गराउँदै यहाँहरुको अमूल्य मत प्राप्त हुने विश्वाससमेत व्यक्त गर्दछु ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पहिलोपटक सम्पूर्ण ब्रोकरहरुको आइटी सिस्टमको अडिट हुँदै, ९३ वटा चेकलिस्ट तयार

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

इरानले हानेको ड्रोनका कारण यूएईमा ७ जना नेपाली घाइते, एक जनाको अवस्था गम्भीर

इरानले हानेको ड्रोनका कारण यूएईमा ७ जना नेपाली घाइते...

व्यवसायीले भने ‘सरकारले नबढाए गाडी भाडा आफै बढाउँछौँ, नभए सेवा बन्द गर्छौं’

सरकारले सार्वजनिक यातायातको भाडा समायोजन नगरे अब आफै बढाउने...

इन्धन खपत घटाउन पाकिस्तानको नयाँ कदम: ३० दिनको लागि सार्वजनिक यातायात निशुल्क

बढ्दो मूल्यसँगै इन्धन खपत घटाउन पाकिस्तानले नयाँ कदम चालेको...

इन्धनको मूल्य बढ्दै गएपछि भुटानले कर्मचारीलाई भन्यो ‘हिडेरै अफिस आउनु’

इन्धनको मूल्य बढ्दै गएपछि भुटान सरकारले ठूलो कदम चालेको...

ऊर्जा मन्त्रालयद्वारा विद्युत नीतिमाथि छलफल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिमाथि...
spot_img