चालु आर्थिक वर्षको मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षा आज सोमबार सार्वजनिक हुने भएको छ। नेपाल राष्ट्र बैंकले आज सोमबार समीक्षा सार्वजनिक गर्ने तयारी गरेको हो।
राष्ट्र बैंक स्रोतका अनुसार आज बिहानको लागि राष्ट्र बैंकको संचालक समितिको बैठक बोलाईएको छ र संचालक समितिको बैठक पारित गरेमा लगत्तै समीक्षा सार्वजनिक गरिने छ।
ब्याज दर घट्दो क्रममा रहे पनि कर्जा प्रवाह बढेको छैन, जसका कारण बैंकहरुमा झन्डै १२ खर्ब तरलता थुप्रिएर बसेको छ । ऋण लगानी बढाउन केही प्रोत्साहनका प्रावधान आउन सक्ने बताईएको छ । बैंकहरुले शेयरमा लगानी गर्ने प्रावधान खुकुलो बनाईदिन आग्रह गरेका छन् । मौद्रिक नीतिको समीक्षा मार्फत बैंकहरुले शेयरमा लगानी गर्न पाउने व्यवस्था केही खुकुलो हुन सक्ने चर्चा छ ।
त्यस्तै पछिल्लो समय राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले ऋणको सदुपयोगितातर्फ जोड दिदै आएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को छैठौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कुनै पनि हालतमा बैंकको रकम दुरुपयोग हुन नहुने भन्दै अब ऋण दिने बैंकका म्यानेजरहरुको निष्ठा पनि हेर्ने बताउदै निष्ठावान भएर काम गर्न निर्देशन दिएका थिए। निर्देशित कर्जाको व्यवस्था र ऋणको सदुपयोगितातर्फ पनि केही प्रावधान आउन सक्ने बताईएको छ ।
गभर्नर पौडेलले देश बनाउने हो भने साना तथा मझ्यौला कर्जाको राम्रो सदुपयोग हुनु पर्ने बताउदै आएका छन् । साना तथा मझ्यौला कर्जाबारे केही प्रावधान आउन सक्ने बताइन्छ । समीक्षा मार्फत प्रोभिजनको व्यवस्था हेरफेर हुने, कालोसूचीको प्रावधानमा पनि केही हेरफेर हुने सम्भावना पनि रहेको बताईएको छ ।
यद्यपि संचालक समिति बैठक बस्न बाँकि नै रहेकोले कुन कुन विषयले समीक्षामा प्रवेश पाउने छन्, ति भने अहिले नै यकिन भएको छैन ।
आर्थिक वर्षको पहिलो त्रैमास सकिएको ४५ दिन भित्र मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरिसक्नु पर्ने व्यवस्था छ।













