जुलाई १०, २०२५ मा, भुटानको शाही सरकारले आफ्नो बिटक्वाइन भण्डारको एक हिस्सा, २१३.५ बिटक्वाइन (BTC), बिनान्स एक्सचेन्जमा स्थानान्तरण गरेको छ। यो स्थानान्तरण बिटक्वाइनको मूल्य हालैको सर्वकालिक उच्च अर्थात् बिटक्वाइन प्रति १ लाख १२ हजार डलरमा पुगेको समयमा भएको हो। ब्लकचेन विश्लेषण कम्पनी आर्कम इन्टेलिजेन्सका अनुसार यो बिक्रीबाट भुटानले लगभग २३.७३ मिलियन डलर अर्थात् करिब ३.१५ अर्ब नेपाली रुपैयाँ आम्दानी गरेको छ।
भुटानले बिटक्वाइनको मूल्य उच्च बिन्दुमा पुगेको समयमा रणनीतिक रूपमा बिक्री गर्ने नीति अपनाएको छ। यो कदम आर्थिक रणनीतिको हिस्सा हो, जसले बिटक्वाइनको मूल्यवृद्धिबाट लाभ उठाउँदै देशको आर्थिक चुनौतीहरू जस्तै युवा बेरोजगारी (२०२४ मा १९%) र पर्यटन क्षेत्रको कमीबाट उत्पन्न समस्याहरू समाधान गर्न खोज्छ। भुटानले आफ्नो हाइड्रोपावरबाट निस्कने बिजुली उपयोग गरी बिटक्वाइन खानी (mining) संचालन गर्छ, जसले देशको आर्थिक आधारलाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याउँछ। यो बिक्रीबाट प्राप्त रकमलाई सार्वजनिक सेवकहरूको तलब दोब्बर गर्न, स्वास्थ्य सेवामा सुधार गर्न र अन्य आर्थिक पहलहरूमा लगानी गर्न प्रयोग गरिएको छ।
कति बिटक्वाइन थियो र बाँकी छ?
आर्कम इन्टेलिजेन्सका अनुसार, भुटानले आफ्नो बिटक्वाइन खानी सञ्चालनमार्फत १३,०११ बिटक्वाइन संकलन गरेको थियो। जुलाई १०, २०२५ को बिक्रीपछि, भुटानसँग हाल ११,७११ बिटक्वाइन बाँकी छ, जसको मूल्य लगभग १.३ बिलियन डलर (करिब १७२.९ अर्ब नेपाली रुपैयाँ बराबर) छ। यो भण्डारले भुटानलाई विश्वको छैटौं ठूलो सरकारी बिटक्वाइन धारकको रूपमा स्थापित गरेको छ।
भुटानले विगतमा पनि बिटक्वाइनको मूल्य उच्च हुँदा बिक्री गर्ने रणनीति अपनाएको छ। उदाहरणका लागि, विगत दुई महिनामा भुटानले १,६९६ बिटक्वाइन ८१,९९९ डलरकोको औसत मूल्यमा बिक्री गरेको थियो ।
भुटानको ड्रुक होल्डिङ्स एन्ड इन्भेस्टमेन्ट्स (DHI) ले सन् २०१९ देखि हाइड्रोपावरद्वारा सञ्चालित बिटक्वाइन खानी सञ्चालन गर्दै आएको छ। सिंगापुरस्थित बिटडियरसँगको साझेदारीले गेडुमा ६०० मेगावाटको खानी सुविधा स्थापना गरेको छ, जसले देशको बिटक्वाइन उत्पादन क्षमतालाई विस्तार गरेको छ। यो रणनीतिले भुटानको ३०-४०% जीडीपीमा योगदान पुर्याउँछ।













