नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले भन्सारमा सन्दर्भ मूल्यलाई खारेज गरि कारोबार मूल्यलाई मान्यता दिइनुपर्ने बताएका छन् । ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष मल्लले कुल ग्राहस्थ उत्पादनमै ४४/४५ प्रतिशत योगदान भन्सार राजस्वको रहेको बताउँदै भन्सारमा सन्दर्भ मूल्यलाई खारेज गरि कारोबार मूल्यलाई मान्यता दिइनुपर्ने बताएका हुन् ।
भन्सार प्रशासनलाई ‘फेस लेस’ गरि डिजिटलाइज बनाउनुपर्ने समेत उनको धारणा छ । उनले हार्मोनिक कोड पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको १० अंकको कायम गर्नुपर्ने आवश्यकतासमेत औल्याएका छन् ।
‘नेपाल विश्व ब्यापार संगठनको सदस्य पनि भएकाले भन्सारका दरबन्दी सर्वस्वीकार्य हुनु आवश्यक छ’ निवर्तमान अध्यक्ष मल्लले भने, ‘केही प्रतिशत भन्सार घटाएको देखाएर अन्तःशुल्क चाहिँ थप लिने खालको व्यवस्था हुनु भएन ।’
उनले वैध ब्यापारलाई उचित सहजीकरण गर्न सकिए भन्सार प्रशासनले राजस्व पनि बढी संकलन गर्ने र दरभन्दा पनि दायरा बढाउन केन्द्रित हुनुपर्ने समेत बताएका छन् । आयात र निर्यातलाई व्यवस्थित गर्न चीनतिर तातोपानी, केरुङ र भारततिर वीरगञ्ज, भैरहवा र झापामा अन्तर्राष्ट्रिय स्तरको ‘क्वारेन्टाइन ल्याब’ स्थापना गर्न आवश्यक रहेको समेत उनको भनाइ छ ।
‘भारत र चीनतिर धेरै नाका खोल्दै जाने भन्दा पनि अति आवश्यक नाकाहरुलाई सबै पूर्वाधारले सम्पन्न बनाउने तर्फ सरकारले ध्यान दिनुपर्ने देखिन्छ, यसो गर्दा सरकारको खर्च पनि कम हुन जान्छ’ मल्लले भने ।
भन्सार दिवसका अवसरमा चेम्बरले अर्थसचिव रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरेको थियो । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनी पनि कार्यक्रममा सहभागी थिए ।
ेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा चेम्बरले भन्सार विभागका शाखा अधिकृत गोपाल प्रसाद भट्टराईलाई सम्मान पनि गरेको छ । भन्सार विभागकै मा शाखा अधिकृत भट्टराइलाई सम्मान गरिएको चेम्बरका अध्यक्ष अग्रवालले बताए ।
भन्सार प्रशासनका उत्कृष्ट कर्मचारीलाई भन्सार दिवसका अवसरमा चेम्बर अफ कमर्सले हरेक वर्ष सम्मान गर्दै आएको छ ।













