नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सरकारी योजना कार्यान्वयन गर्न ‘टाइम बाउण्ड एक्सन प्लान’ जरुरी रहेको बताएका छन् । भक्तपूर चेम्बर अफ कमर्सको ७औँ वार्षिक साधारणसभामा निवर्तमान अध्यक्ष मल्लले सरकारी सेवा र सरकारी योजनाहरुको कार्यान्वयन फितलो हुने गरेको अवस्थामा यति दिनिभित्र यति काम सम्पन्न हुनैपर्छ भन्ने खालको समयसीमा निर्धारण गर्न आवश्यक रहेको बताएका हुन् ।
यस्तै, निर्यातको तुलनामा ९ गुणा बढी मूल्यको वस्तु तथा सेवा आयात हुने गरेको बताउँदै निर्यात प्रवद्र्धन गर्न जरुरी रहेको पनि उनको भनाए छ ।
‘हाम्रो आयात निर्यातको तुलनामा ९ गुणा बढी छ, हामीले निर्यातको सम्भावना भएका वस्तुहरुको निकासीलाई प्रवद्र्धन गर्नु आवश्यक छ’ निवर्तमान अध्यक्ष मल्लले भने, ‘सूचना प्रविधि पछिल्लो समय निकै सम्भावना भएको क्षेत्र हो, यसको निकासी योजना खासै प्रभावकारी रुपमा बनेको छैन । यसैगरी जलविद्युतको निकासी बढाउने भनिएपनि कसरी भन्ने ठोस योजना बनेको छैन । हाम्रा हस्तकला, जडिबुटीजन्य उत्पादन र अर्गानिक तरकारी तथा चिया कफीको निकासी बढाउने तर्फ प्रभावकारी योजना नै बनाएर काम गर्नुपर्ने अवस्था छ ।’
यस्तै, अर्गानिक प्राङ्गारिक मल कारखाना स्थापना गरि त्यसबाट कृषि उत्पादन बढाउँदै कम्तीमा कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्न सकिने पनि उनको विश्वासछ । अर्गानिक प्राङ्गारिक मल कारखाना खोल्ने र त्यस्तो मल प्रयोग गरेर माटोको उर्वराशक्ति अहिलेको तुलनामा कम्तीमा दोब्बर बनाउन सकिने मल्लको भनाइ छ ।
‘यो कुरा प्रमाणित पनि भइरहेको छ, यसतर्फ पनि कृषि मन्त्रालय र सरकारले ध्यान दिनुपर्ने आवश्यकता छ’ उनले थपे, ‘यसबाट कम्तीमा कृषिमा आत्मनिर्भर हुने बाटोमा अघि बढ्न मद्दत पुग्छ । साथै, किसानहरुले उत्पादन गरेका वस्तुहरुलाई संकलन गरि एग्रीकल्चर सम्वद्ध मोबाइल एप तथा डिजिटल प्लेटफर्ममार्फत बजारसम्म पुर्याउने व्यवस्था मिलाउन पनि आवश्यक छ ।’
उनले माटो परीक्षण गर्ने र कुन ठाउँमा के खेती गर्दा उपर्युक्त हुन्छ भन्ने जानकारी कृषक र लगानीकर्तालाई सरकारले उपलब्ध गराउने हो भने अझै सहज हुने समेत बताएका छन् ।
कार्यक्रम भक्तपूर चेम्बर अफ कमर्सका अध्यक्ष कबिदास श्रेष्ठको अध्यक्षतामा भएको थियो ।













