भदौ १० गतेको भोटेकोशी बाढीले सञ्चालनमा रहेका २६१.१ मेगावाट र परीक्षण उत्पादनको तयारीमा रहेको २० मेगावाट र निर्माणाधिन ३८८.६ मेगावाटका जलविद्युत आयोजनामा क्षति पुर्याएपछि हिउँदमा लोडसेडिङ हुन्छ कि भन्ने चिन्ता बढाएको छ । उसैपनि हिउँदमा भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता कायम रहेका बेला भोटेकोशी बाढीले सञ्चालनमा रहेका र उत्पादनको तयारीमा रहेका आयोजनामा क्षति पुर्याएपछि लोडसेडिङको डर पैदा भएको हो ।
कुन कुन आयोजनमा पुग्यो क्षति ?
बाढीले जलविद्युत र सोलार गरेर १२ वटा आयोजनामा क्षति पुर्याएको छ । यीमध्ये सञ्चालनमा रहेका (हाल विद्युत उत्पादन गरिरहेका) १११ मेगावाट क्षमताको रसुवागढी, २२ मेगावाटको चिलिमे, २४ मेगावाटको त्रिशुली जलविद्युत केन्द्र, १४.१ मेगावाटको देवीघाट जलविद्युत केन्द्र, ६० मेगावाटको माथिल्लो त्रिशुली ३ए र ५ मेगावाटको मैलुङ खोला आयोजनामा बाढीले क्षति गरेको छ ।
भदौ १५ गतेबाट परीक्षण उत्पादनको तयारीमा रहेको २० मेगावट क्षमताको लाङटाङ खोला आयोजना पनि भदौ १० को बाढीमा परेर क्षतिग्रस्त हुन पुग्यो । यो बाहेक २५ मेगावाट क्षमताको नुवाकोटस्थित सौर्य विद्युत आयोजना पनि बाढीले क्षतिग्रस्त बनाएको छ ।
निर्माणाधिनतर्फ २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १, १२० मेगावाट क्षमताको रसुवा भोटेकोशी, ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली ३बी र १५.६ मेगावाट क्षमताको मिडल त्रिशुली गंगामा पनि बाढीले क्षति पु¥याएको छ । यी आयोजनाहरुमा भएको मानवीय क्षति पनि ठूलो छ ।
यी बाहेक हाल ११ मेगावाटको माथिल्लो तांदीखोला जलविद्युत आयोजना, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेनको बिजुली पनि प्रणाली भन्दा बाहिर छ । यी आयोजना सुरक्षित रहेपनि यी आयोजनाको बिजुली प्रवाह हुने प्रसारणलाइन र सबस्टेसनमा बाढीले क्षति पुगेकोले आयोजनाको उत्पादन बन्द छ ।
गत साउन मै आएको बाढीले १० मेगावाटको सिप्रिङ खोला जलविद्युत् आयोजना, ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना र १४ मेगावाट क्षमताको घारखोलाको उत्पादन पनि बन्द छ ।
यसरी झन्डै ४०० मेगावाट बिजुली प्रणालीबाट बाहिर हुँदा हिउँदमा लोडसेडिङको त्रास बढेको हो।
लोडसेडिङ हुन नदिन प्राधिकरणको व्यवस्थापन राम्रो हुनुपर्छः इप्पान
स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष मोहन डाँगीले विद्युत उत्पादन गरिरहेका र उत्पादनको तयारीमा रहेका आयोजनाहरुमा बाढीले क्षति पु¥याएपछि स्वभाविक रुपमा आन्तरिक उत्पादनमा संकुचन आउने बताएका छन् । तर, केही प्रोजेक्टहरु चाँडै राष्ट्रिय प्रशारण प्रणालीमा जोडिने भएकाले लोडसेडिङको जोखिम भने कम रहेको उनको भनाइ छ ।
‘७३ मेगावाट क्षमताको एउटा प्रोजेक्ट एक दुइ महिनामै जोडिँदैछ, यो ताप्लेजुङको प्रोजेक्ट हो’ उनले भने, ‘पीक आवरमा बेलुका ६ घण्टा ७३ मेगावाट विद्युत आउनु भनेको ठूलो कुरा हुन्छ । अरु पनि जोडिने तयारीमा छन् ।’
उनका अनुसार अहिलेको बाढीले विद्युत उत्पादन गरिरहेका २६१ मेगावाट क्षमताका आयोजना, परीक्षण उत्पादनको तयारीमा रहेको लाङटाङ र अरु निर्माणाधिन आयोजनामा क्षति नगरेको भए यसपाली हिउँदमा भारतबाट बिजुली किन्नुपर्दैन्थ्यो । ‘किनभने, ताप्लेजुङको ७३ मेगावाट थपिँदै थियो, लाङटाङ खोलाको २० मेगावाट आउँदै थियो । २१६ मेगावाटको माथिल्लो त्रिशुली १ पनि यो वर्ष करिब करिब सकिन्थ्यो’ उनले भने, ‘यसो हुँदा भारतबाट बिजुली किन्नु पर्दैन भन्नेमा हामी ढुक्क थियौँ । तर, बाढीले असहज अवस्था निम्तिएको हुनाले आयात त गर्नैपर्ला । प्राधिकरणले अधिकतम् व्यवस्थापन गर्न सक्यो भने लोडसेडिङ चाहिँ हुँदैन ।’
लोडसेडिङको डर मान्नु पर्दैनः विद्युत प्राधिकरण
नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पनि बाढीका कारण करिब ३५० मेगावाट विद्युतको उत्पादन बन्द हुन पुगेपनि लोडसेडिङ नै गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । बाढीका कारण क्षतिग्रस्त भएका आयोजनाबाहेक सबै आयोजनाहरु अहिले पूर्ण क्षमतामा चलिरहेको बताउँदै उनले माग अनुसारको विद्युत सहजै आपुर्ति भइरहेको बताए ।
निमित्त कार्यकारी निर्देशक श्रेष्ठले दशैँ, तिहार, छठ जस्ता मुख्य चाडपर्वमा पनि विद्युत कटौती नहुने दाबी गरेका छन् । अहिले पनि दैनिक ५ सयदेखि ६ सय मेगावाटसम्म विद्युत निर्यात भइरहेको बताउँदै उनले ‘ड्राई सिजन’को विद्युत माग व्यवस्थापनका लागि अहिलेदेखि नै रणनीति बनाउने काम सुरु गरिएको समेत जानकारी दिए ।
‘दशैँ, तिहारलाई कुनै असर पर्दैन, हामीलाई अलि गाह्रो भनेको फागुनदेखि बैशाखसम्म हुने हो’ निमित्त कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘त्यतिबेला के कसरी लोड व्यवस्थापन गर्ने भनेर अहिलेदेखि नै हामी रणनीति बनाउन जुटिसकेका छौँ । प्राधिकरणको प्रणाली सञ्चालन विभागले रणनीति बनाउने काम सुरु गरिसकेको छ ।’
उनले सुख्खायाममा विगतमा भारतबाट ऊर्जा आयात हुने गरेको र यसवर्ष पनि बाढीले आयोजनाहरुमा क्षति गर्दा आयात गर्नुपर्ने भने हुन सक्ने बताए । ‘लोड धान्न आयात गर्नैपर्ने स्थिति आयो भने आयात गरेर भएपनि बिजुली दिन्छौँ’ श्रेष्ठले भने, ‘लोड म्यानेजमा समस्या हुन दिँदैनौँ ।’









