मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीका ८ जना अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, संयुक्त राष्ट्रसङ्घको समुद्रसम्बन्धी कानुनको महासन्धि अन्तर्गत ‘राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोग’ सम्बन्धी सम्झौतालाई अनुमोदनका लागि सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय पनि भएको छ ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गरिएको छ ।
कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३ र शिक्षा दशौँ संशोधन नियमावली २०८३ स्वीकृत गरिएको छ ।
गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ ।
राष्ट्रिय सदाचार नीति २०८३ र राष्ट्रिय विज्ञापन नीति २०८३ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।









