नेपाल विद्युत प्राधिकरणले बिजुलीको मूल्य (महशुल) बढाउने तयारी गरेको चर्चा भइरहेको छ । हाल उपभोक्ताले पाइरहेको दरमा केही प्रतिशत वृद्धि गरेर नयाँ महशुल दर प्रस्ताव गर्नका लागि प्राधिकरणले आन्तरिक तयारी गरिरहेको बताइन्छ । यसका लागि एक जना सञ्चालकको संयोजकत्वमा उप–समिति नै बनाइएको समेत बताइएको छ ।
उक्त उप–समितिले के कति महशुल बढाउनु उपर्युक्त हुन्छ भन्ने राय सहितको प्रस्ताव सञ्चालक समितिमा पेश गर्नेछ । सञ्चालक समितिले उप–समितिको प्रस्तावमा छलफल गरेर नयाँ महशुल दर प्रस्ताव गर्दै विद्युत नियमन आयोगमा स्वीकृति (अनुमोदन)का लागि पठाउने बताइन्छ ।
प्राधिकरणका हाकिम भन्छन्, ‘यस सम्बन्धि कुनै तयारी छैन’
प्राधिकरणले विद्युत महशुल दर परिवर्तन गर्ने तयारी गरेको बताइएपनि प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य भने यस सम्बन्धि कुनै पनि तयारी अघि नबढेको दाबी गर्छन् । बिजनेश पानासँगको कुराकानीमा प्रबन्ध निर्देशक शाक्यले बिजुलीको महशुल बढाउने सम्बन्धि कुनैपनि तयारी अघि नबढेको र बिजुलीको भाउ बढाउने सम्बन्धि कुनै प्रस्तावसमेत नगरेको दाबी गरे ।
‘महशुल दर वृद्धि गर्ने, परिवर्तन गर्ने भन्ने केही पनि तयारी छैन’ उनले भने, ‘महशुल दर बढाउनुपर्छ भनेर प्राधिकरणले कहीँ कतै कुनै छलफल र प्रस्ताव गरेको पनि छैन ।’
उनका अनुसार गलत मनशायले प्राधिकरणको विषयमा हल्ला चलाउने र आम सर्वसाधारणमा प्राधिकरणप्रति नकारात्मक धारणा विकास गराइदिने उदेश्यले यो हल्ला चलाइएको हो । ‘यस्ता हल्लामा कुनै पनि सत्यता छैन’ शाक्यले थपे, ‘व्यक्ति लक्षित टिप्पणी र प्रहार गर्ने काम भइरहेकै छन् । तर, त्यसरी भन्ने मान्छेहरुले त्यसो गर्दा संस्थाकै छवी र प्रतिष्ठामा पनि आँच पुग्छ भन्ने कुरा ख्याल गरिदिए राम्रो हुन्थ्यो ।’
अहिले कति छ बिजुलीको भाउ ?
नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले २० युनिटसम्म खपत गर्ने ग्राहकले न्यूनतम् मासिक शुल्क ३० रुपैयाँ तिरे पुग्छ । हाल कार्यान्वयनमा रहेको विद्युत महशुल संकलन विनियमावली अनुसार २० युनिटसम्म विद्युत खपत गर्दा बिजुलीको पैसा लाग्दैन । अर्थात्, मासिक ३० रुपैयाँ न्यूनतम् शुल्क मात्रै तिर्नुपर्छ ।
तर, २१ युनिटभन्दा बढी बिजुली खपत गर्ने ग्राहकले न्यूनतम् मासिक शुल्क ५० रुपैयाँ, त्यसमा २० युनिटसम्मको प्रतियुनिट ३ रुपैयाँ र २१ देखि ३० युनिटसम्म प्रतियुनिट ६.५० रुपैयाँ महशुल तिर्नुपर्छ ।
३१ देखि ५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकले न्यूनतम् मासिक शुल्क ५० रुपैयाँ, २० युनिटसम्मको प्रतियुनिट ३ रुपैयाँ, २१ देखि ३० युनिटसम्म प्रतियुनिट ६.५० रुपैयाँ र ३१ देखि ५० युनिटसम्म प्रतियुनिट ८ रुपैयाँका दरले महशुल लाग्छ ।
यसैगरी, २५० युनिटभन्दा माथि बिजुली उपयोग गर्ने ग्राहकले मासिक न्यूनतम् शुल्क १५० रुपैयाँ, २० युनिटसम्मको प्रतियुनिट ३ रुपैयाँ, २१ देखि ३० युनिटसम्म प्रतियुनिट ६.५० रुपैयाँ, ३१ देखि ५० युनिटसम्म प्रतियुनिट ८ रुपैयाँ, ५१ देखि १५० युनिटसम्म प्रतियुनिट ९.५० रुपैयाँ, १५० देखि २५० युनिटसम्म प्रतियुनिट १० रुपैयाँ र २५१ देखि ४०० युनिटसम्म प्रतियुनिट ११ रुपैयाँका दरले महशुल लाग्दै आएको छ ।
कसरी तोकिन्छ बिजुलीको महशुल ?
विद्युत प्राधिकरणले बिजुलीको पैसा उठाउने भएपनि आफैँले दर तोक्न भने पाउँदैन । प्राधिकरणले बजार विद्युत नियमन आयोग समक्ष विद्युत महशुल दर प्रस्ताव भने गर्नुपर्ने हुन्छ । प्राधिकरणले प्रस्ताव गरेका दर ठिक छ कि छैन भनेर आयोगले पनि अध्ययन गर्छ ।
आयोगले अध्ययन गर्दा प्राधिकरणले प्रस्ताव गरेको महशुल दर ठिक लागेमा उसले स्वीकृत गर्छ । आयोगले स्वीकृत गरेपछि मात्रै प्राधिकरणले स्वीकृत भएको दरअनुसार बिल पठाउन पाउँछ ।
आयोगले प्राधिकरणले प्रस्ताव गरेको दरमा हेरफेर गरेर पनि महशुल दर निर्धारण गर्न सक्छ ।













