मध्यपूर्व क्षेत्रमा १७ लाख बढी नेपाली नागरिक रहेको पाईएको छ। परराष्ट्र मन्त्रालयका अनुसार इरानमा छ जना, इजरायलमा छ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा तीन लाख ५७ हजार, कुवेतमा एक लाख ७५ हजार, जोर्डनमा तीन हजार, बहराइन २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्समा चार लाख ७८ हजार १४४, लेबनानमा एक हजार ५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार गरी हाल कुल १७ लाख २९ हजार २८८ जना नेपाली नागरिक रहेका छन्।
मध्यपूर्व क्षेत्रमा पछिल्लो विकसित घटनाक्रमपछि त्यहाँ रहेका १७ लाख बढी नेपालीलाई सरकारले सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरेको छ । सरकारले त्यस क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि शनिबार संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि र इरानले त्यसको प्रत्याक्रमण गरेपछि मध्यपूर्वको स्थिति तनावपूर्ण बनेको छ । हालसम्म त्यस क्षेत्रका नेपाली भने सुरक्षित रहेको बताईएको छ ।
मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालका अनुसार हालसम्म त्यस क्षेत्रमा नेपाली नागरिक सुरक्षित छन् । नेपाल सरकारले घटनाक्रम नजिकबाट हेरिरहेको र सम्बन्धित मुलुकले जारी गरेको सुरक्षासम्बन्धी सूचना जानकारी लिई त्यसको पालना गर्न आग्रह गरिएको उनले जानकरी दिए ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यस क्षेत्रका नेपालीको सुरक्षाका लागि सरकारले आवश्यक काम र पहल गरिरहेको बताए । उनले त्यहाँ नेपाली नागरिकलाई घरभित्रै सुरक्षित रहन, सूचना पालना गर्न, अफ्ठ्यारो परेमा दूतावास र मन्त्रालयसँग सम्पर्कमा रहन आग्रह गरे।
श्रम स्वीकृति कार्य बन्द
मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर सरकारले ति देशहरुमा जानको लागि प्रदान गर्ने श्रम स्वीकृतिको कार्य तत्कालको बन्द गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै श्रम स्वीकृति प्रदान गर्ने कार्य अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो । मन्त्रालयले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति तत्कालका लागि स्थगित गरेको हो । ती देशहरूको लागि व्यक्तिगत र संस्थागत दुवै प्रकारको श्रम स्वीकृति स्थगित गरिएको हो।
चनाखो छौँ : श्रम मन्त्रालय
पछिल्लो विकसित परिस्थितिले नेपालीहरु पनि प्रभावित हुनसक्ने विषयमा आफु चनाखो रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय जनाएको छ। साथै प्रभावित नेपाली नागरिकहरुको राहत तथा उद्दारमा सवै प्रकारको उपाय अवलम्वन गरिने मन्त्रालयले उल्लेख गरेको छ।
मन्त्रालयका सहायक प्रवक्ता मेघनाथ रिमालका अनुसार पछिल्लो परिस्थिति सुधार नहुँदासम्म र युद्धको अवस्था समाप्त नहुन्जेलसम्म परराष्ट्र मन्त्रालय र सम्बन्धित क्षेत्रमा रहेका नियोगहरुको आधिकारिक सूचनामा मात्र विश्वास गर्न र गन्तव्य मुलुकले जारी गरेका सुरक्षा सावधानीहरूको पालना एवम् नेपाली कुटनैतिक नियोग एवम् कन्सुलरसँग नियमित सम्पर्कमा रहन र राहत, उद्धारको परिस्थिति भएमा नेपाल सरकारले तोकेका आधिकारिक नम्बरमा यथाशीघ्र सम्पर्क गर्न सबै नेपाली नागरिकहरुलाई अनुरोध गरिएको छ ।
यस विकसित परिस्थितिको सहजीकरण गर्न सबै कुटनीतिक नियोग, नेपाली आप्रवासी श्रमिकहरु, गैर आवासीय नेपाली संघ, वैदेशिक रोजगार व्यवसायी संघ एवम् अन्य सरोकारवाला निकायहरुलाई समन्वयका लागि अनुरोध गरिएको सहायक प्रवक्ता रिमालले बताएका छन्। कुनै विशेष समस्या तथा जानकारीका लागि मन्त्रालयको श्रमाधान कल सेन्टर ११४१ मा सम्पर्क गर्न सकिने उनको भनाई छ ।












