यसवर्षको तिहारको भाईटीकाका दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार आज पनि मौसम बदली भई भाईटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखी मध्यम वर्षा हुनेछ । आइतबार भाइटीकाको दिन कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थान तथा तराईका केही भू–भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ । काठमाडौँ उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्ने बताइएको छ ।
अधिकारीका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरेको छ ।
अब एक सातापछि काठमाडौँ उपत्यकालगायत देशैभर चिसो बढ्ने सम्भावना रहेको छ । जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार नोभेम्बर ९ पछि हालको तुलनामा ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने देखिएको छ ।
शुक्रबार रातिसम्म काठमाडौँको तापक्रम १६ डिग्रि सेल्सियस छ ।