सरकारले बाढीपहिरो प्रभावित १२ जिल्लाका ४१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा रामेछापका सबै स्थानीय तह संकटग्रस्त क्षेत्र घोषित भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट बढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । यस अनुसारका रामेछापका सबै स्थानीय तह विपद् संकटग्रस्त क्षेत्रको सूचीमा परेका छन् ।
शुक्रबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले सिफारिस गरे अनुसार मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका, सुनापति गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका र उमाकुण्ड गाउँपालिका गरि रामेछापका सबै स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित भएका हुन् ।