उत्तरी छिमेकी देश चीनसँगको प्रमुख ब्यापारिक नाका बन्द भएपछि मुस्ताङको कोरला नाकामा चाप बढेको छ । रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरला नाकाबाट हुने आयात बढेको हो ।
यो नाकाबाट अहिले विद्युतीय सवारी साधनको जाँचपास उल्लेख्य मात्रामा बढेको छ । मुस्ताङ भन्सार कार्यालयका अनुसार यसअघि औसतमा दैनिक ४÷५ वटा मात्रै ईभी जाँचपास हुने गरेकोमा अहिले दैनिक औसतमा १५ वटा ईभी जाँचपास भएर छुट्ने भएका छन् ।
वस्तु लोड गरिएका कन्टेनरको जाँचपास पनि बढेको छ । यसअघि दैनिक ३/४ वटा कन्टेनर जाँचपास भएर छुट्ने गरेकोमा अहिले १० भन्दा बढी पुगेको छ । मुस्ताङ भन्सार प्रमुख बिदुर चुडालका अनुसार पछिल्लो १० दिनमा यो नाका हुँदै १३० वटा ईभी र ८८ वटा कन्टेनर जाँचपास भएका छन् । शुक्रबार मात्रै ७१ वटा कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधनको जाँचपास भएको छ ।
रसुवागढी नाकाबाट पछिल्लो १५ दिनको अवधिमा १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।









