काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका छन् । उनले आज आइतबार महानगरकी उपमेयर सुनिता डंगोल समक्ष राजीनामा दिएका हुन् ।
नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम, काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट २०८२।१०।०४ गते देखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेश गरेको बालेनले उल्लेख अग्रेका छन्।
राजीनामा पत्रमा बालेनले भनेका छन् ‘यस पदमा रहँदा काठमाडौं महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु ।’ उपमेयर डंगोललाई शुभकामना दिदै उनले लेखेका छन् ‘ अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु ।’
बालेन आज नै अब राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने कार्यक्रम छ । बालेनलाई रास्वपाले बरिष्ठ नेता बनाएको छ । उनी रास्वपाका प्रधानमन्त्रीका उम्मेदवार समेत हुन् । बालेनले झापा ५ बाट चुनाव लड्ने तयारी गरेका छन् । जुन निर्वतमान प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र हो ।









