सरकारले कोटेश्वरमा फ्लाई ओभर र सुरुङमार्ग बनाउन जापानसँग ३० अर्ब बढी ऋण लिने निर्णय गरेको छ । भदौ २ गते बसेको मन्त्रिपरिषदको बैठकले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३४ अर्ब ४९ करोड (करिब ३० अर्ब आठ करोड रुपैयाँँ) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको हो ।
जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)मार्फत उक्त ऋण प्राप्त हुनेछ । कोटेश्वर चोकमा अत्यधिक ट्राफिक जाम हुने भएकोले जाम हटाउनको लागि सडक विभागमार्फत कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयन गरिन लागेको हो । परियोजनाको लागि ३९ अर्ब रुपैयाँ लगानी अनुमान गरिएकोमा जापानले ३० अर्ब सहुलियत ऋण दिने भएको हो । बाँकि रकम नेपाल सरकारले बेहोर्ने छ ।
यस परियोजना अन्तर्गत कोटेश्वर चोकमा दुई फ्लाई ओभर र एक सुरुङमार्ग बनाउने तयारी छ । तीनकुनेतर्फ र भक्तपुरतर्फ फ्लाइओर बनाउने तथा विमानस्थलको धावनमार्गतर्फ भने अन्डरपास सुरुङ बनाउने तयारी छ । फ्लाई ओभर र अन्डरपास सुरुङमार्ग बनेपछि तिनकुनेबाट कोटेश्वर चोक भएर ललितपुर जाने सवारीहरुलाई जाम पर्ने छैन। त्यस्तै भक्तपुरबाट तीनकुनेतर्फ जाने सवारीसाधन पनि रोकिनु पर्ने छैन ।
यद्यपि यो परियोजना अहिले नै अघि बढ्ने छैन । सुरुमा नेपाल सरकार र जापान सरकारबीच ऋण सम्झौता हुनु पर्छ, अहिले ऋण लिने निर्णय मात्र भएको हो । ऋण सम्झौता भएपछि परियोजनाको लागि परामर्शदर्ता छनौट गर्नु पर्ने छ । त्यसपछि आयोजनाको विस्तृत अध्ययन गर्नु पर्ने छ । अनि बल्ल आयोजना निर्माण चरणमा जाने छ ।









