विश्व प्रसिद्ध बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ आज असार १८ गतेबाट प्रसारण हुदै छ । नेपालका लागि उत्पादन तथा प्रसारण सर्वाधिकार प्राप्त गरेको हिमालय टेलिभिजनले आज असार १८ गतेबाट हरेक बुधबार र बिहीबार राति ९ बजे कार्यक्रम प्रसारण गर्न लागेको हो ।
पहिलो सिजनको लागि सबै सुटिङ्ग सकिएको हिमालयन टेलिभीजनले जनाएको छ । पहिलो सिजनमा २० वटा एपिसोड रहने छन् । हरेक एपिसोडमा ५ जनाले आफ्नो व्यवसाय र उद्यमशीलताको आइडिया पिच गरेका छन् । यसरी कुल २० एपिसोडमा सय जनाले गरेको आइडिया पिच र त्यसमा शार्कको प्रतिक्रिया र उनीहरुले गरेको लगानी देखिने छ ।
पहिलो सिजनका लागि आईएमई ग्रुपका सहसंस्थापक हेमराज ढकाल, अग्नी ग्रुपका संस्थापक क्याविनेट श्रेष्ठ, बैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह बैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पद्दम ज्योति ग्रुपका निर्देशक शौरभ ज्योति रहेका शार्कका रुपमा अनुवन्ध छन् ।
सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रूपमा सुरु भएको यो शो अहिले विश्वकै सबैभन्दा ठूलो व्यवसायिक रियलिटी टिभी शो बन्न पुगेको छ । ५० भन्दा बढी देशमा प्रसारण हुँदै आएको यो शोलाई सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको छ ।
यो कार्यक्रम अमेरिका, मेक्सिको, भारत, बंगलादेश, पाकिस्तान लगायतका देशमा शार्क ट्याङ्कको नामबाट प्रसारण हुँदै आएको छ भने बेलायत, क्यानडा जस्ता मुलुकमा ड्रागन्स डेन नामबाट प्रसारण हुँदै आएको छ ।