पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा चौधरी फाउण्डेसनको सहयोगमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । प्रतापपुरको वार्ड न ९ मा पर्ने प्रतापपुर गाउँमा करिब १३ बर्षदेखि जिर्ण अवस्थामा रहेको खानेपानी आयोजनाको स्तरोन्नति गरी पुन सञ्चालनमा ल्याइएको हो ।
बुधबार एक कार्यक्रममा बीच प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उक्त आयोजनाको उद्घाटन गरेका हुन् । उनले शुद्ध पानी पिउन पाउनुपर्ने नागरिकको अधिकार भएको बताए । उनले भने, ‘चौधरी फाउण्डेसनको सहयोगमा यहाँ शुद्ध खानेपानीको व्यवस्था भएको छ । यो काम हामीले अन्त पनि गर्नेछौं । नागरिकालाई शुद्ध खानेपानीको व्यवस्था गर्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्दछ ।’
चौधरी फाउन्डेसनको आर्थिक सहयोगमा उक्त आयोजनाको स्तरोन्नतिको कार्य गरिएको हो । शुद्ध खानेपानीको अभावमा प्रतापपुरमा अत्याधिक आर्सेनिकयुक्त खानेपानी पिउन बाध्य थिए।
लामो समयदेखि बन्द रहेको खानेपानी आयोजनालाई प्रतापपुर गाउँपालिको सहकार्यमा चौधरी फाउण्डेसनको आर्थिक सहयोगमा शुद्ध खानेपानीको व्यवस्था गरिएको हो । सफा र शुद्ध खानेपानीको व्यवस्था भएपछि स्थानीय खुसी भएका छन् । उक्त आयोजनाबाट प्रतापपुरका संयौं घरपरिवार लाभान्वित भएका छन् ।