रङ्गहरुको पर्व होली आज तराई तथा भित्रि मधेशका जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा सरकारले आज होली मनाइने ति जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व मनाउने गरिन्छ । हिजो बिहिबार काठमाडौँ सहित पहाडी जिल्लाहरुमा होली मनाई सकिएको छ ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ ।
विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ ।