होली पर्वको दिन बिहानैबाट काठमाडौँमा सवारीसाधन चेकिङका कडाइ गरिएको छ । होलीको बाहानामा बिहानैबाट चालकहरुले मादक र लागुपदार्थ सेवन गरेको हुन सक्ने भन्दै ट्राफिक प्रहरीले बिहानैबाट कडाइ गरेको हो ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार आज मादक पदर्थ सेवनकर्ता (मापसे) र औषध सेवनकर्ता (लापसे)को चेकिङ बिहानैबाट सुरु भएको छ । चेकिङका क्रममा त्यस्ता चालक फेला परेमा आफन्त बोलाएर जिम्मा लगाइने र सवारी साधन भने दिनभरि नियन्त्रणमा लिइने (होल्ड गरिने) ट्राफिक प्रहरी प्रमुख एसएसपी घिमिरेले जानकारी दिए ।
चिट काटेर जरिबाना लिने मात्रै नभई आज त्यस्ता सवारी भेटिएमा सवारीसाधन नै दिनभरी होल्ड गरिने उनले प्रष्ट पारे । ट्राफिक प्रहरी विहान ७ बजेदेखि नै ड्युटीस्थलमा पुगिसकेका छन् ।
ट्राफिकले उपत्यकाका तीनै जिल्ला प्रहरी परिसरसँग समन्वय गरेर चेकिङ टोली खटाएको छ ।