उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनलाई डिस्चार्ज गर्ने निर्णय गरिएको किर्तिपुर अस्पतालले जनाएको छ।
शनिवार पोखरामा गण्डकी भ्रमण वर्षको उद्घाटनको क्रममा हाइड्रोजान भरिएको बेलुन बिस्फोट हुँदा मन्त्री पौडेल सहित पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भई अस्पताल भर्ना भएका थिए । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र दुबै जनाको जलनको घाउ निको हुँदै गएको तथा फोक्सोमा कुनै खराब असर परेको नदेखिएकोले मन्त्री पौडेललाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार मेयर धनराज आचार्यको पहिले देखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकोले केहि दिन थप उपचार हुने छ। साथै, मेयरलाई हुने भेटघाट पनि संक्रमणको जोखिम कम गर्न हाललाई बन्द गरिएको अस्पतालले उल्लेख गरेको छ।
उनीहरुको उपचारमा प्रा. डा. वि.डी. झा, डा. प्रविण गिरी लगायतका सघन उपचार कक्षको टोली, प्रा. डा. शंकर मान राई, डा. विशाल कार्की, डा. मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली, डा. प्रयुष अर्याल लगायतका आकस्मिक उपचार टोली तथा रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ्ग टोली संलगन थियो ।