आज सोमबार पनि संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजेको लागि बोलाईएको छ।
आजको बैठकमा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गर्ने तयारी छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। छलफलपछि “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै आज सभामुखले “नेपाल नागरिकता ( दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने छन्। बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले “राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आ.व. २०७९/८०) र सातौं वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१)” पेश गर्ने कार्यसूची छ। गृह मन्त्री रमेश लेखकले “नेपाल प्रहरी विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् ” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले “अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरु (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन ” पेश गर्ने छन्।
यी बाहेक बैठकमा आकष्मिक समय, शुन्य समय र विशेष समयको कार्यक्रम तय गरिएको छ ।