गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ निर्णयार्थ पेश हुन सकेन ।आईतवार गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
प्रस्तावउपर सांसदहरुले छलफल गरी गृहमन्त्रीले जवाफ समेत दिइसकेका थिए । तर गणपूरक संख्या नपुगेको भन्दै प्रस्ताव निर्णयार्थ पेश भएन ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले निर्णयार्थ पेश गर्न गणपूरक संख्या नपुग्ने भन्दै यकिन गर्न माग गरेकी थिइन्। तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्दा प्रश्ताव पेश गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेको सभामुख देवराज घिमिरेले बताए ।
सभामुख घिमिरेले गणपूरक संख्या यकिन गर्दा प्रश्ताव पेश गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेकाले गणपूरक संख्या नपुगेको भन्दै कार्यसूचिबाट बाँकी कार्यक्रम हटाइएको घोषणा गरे । प्रतिनिधि सभाको अर्को बैठक सोमवार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।
नेपालको संविधानको धारा ९४ बमोजिम कुनैपनि प्रश्न वा प्रश्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य उपस्थिति हुनुपर्ने व्यवस्था छ ।