राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले आज माघ २८ गते सूचना जारी गर्दै १५ दिनभित्र दरखास्त पेश गर्न भनेको हो।
कम्पनीले राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको नियमावली, २०७२ (पाँचौँ संशोधन सहित) को नियम ३६ (१) बमोजिम सोही नियमावलीको नियम ३६ (२) बमोजिमको न्यूनतम योग्यता र अनुभव पूरा भएका योग्य तथा इच्छुक व्यक्तिलाई आवेदन दिन भनेको छ ।
दरखास्त साथ नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण, शैक्षिक योग्यताका प्रतिलिपि र कार्य अनुभव सम्बन्धी कागजात पेश गर्नु पर्ने छ । त्यस्तै प्रमुख कार्यकारी अधिकृतको कार्यादेश (Terms of Reference) बमोजिमको बिजिनेश प्लान (Business Plan Proposal) दुई प्रति पेश गर्नु पर्ने छ ।
आवेदक तत्काल कुनै संस्थामा कार्यरत रहिरहेको भए सो संस्थाको पूर्व स्वीकृति पत्र आवश्यक पर्ने छ । नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नभएको, यस कम्पनीको स्वार्थ बाझिने अन्य कम्पनीमा संलग्न नरहेको, कुनै राजनीतिक दलको सदस्य वा पदाधिकारी नभएको र प्रचलित कानूनले अयोग्य नभएको स्वः घोषणा पत्र पनि पेश गर्नु पर्ने छ।
उम्मेदवारले बिजिनेश प्लानको बाहिरी पृष्ठमा मात्र आफ्नो नाम समेतको परिचय खुलाउनु पर्नेछ । सो बाहेक अन्य कुनै पनि पृष्ठमा उम्मेदवारले आफूलाई पहिचान गराउने गरी नाम, संकेत वा चिन्ह राख्न वा उल्लेख गर्न पाउने छैन । दरखास्त पेश गरेका उम्मेदवारहरूमध्ये प्रारम्भिक छनोट सूचीमा परेका उम्मेदवारहरूलाई मात्र बिजिनेश प्लान प्रस्तुतिका लागि सूचित गरिने कम्पनीले जनाएको छ ।
यो प्रसारण लाइन निर्माण गर्दै आएको सरकारी कम्पनी हो ।