फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह ‘डी’ को अन्तिम खेलमा युक्रेनलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपमा सिधै स्थान सुरक्षित गरेको छ। यो जितसँगै फ्रान्स समूह विजेता बनेको छ र युरोपबाट दोस्रो टोलीको रूपमा विश्वकपमा छनोट भएको छ।
पेरिसको पर्क दे प्रिन्स स्टेडियममा मङ्गलबार (नोभेम्बर १३, २०२५) भएको खेलमा किलियन एम्बाप्पेले दुई गोल गरे। उनले दोस्रो हाफको ५२औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे भने ७६औँ मिनेटमा दोस्रो थपे। माइकल ओलिसेले ७६औँ मिनेटमा तेस्रो गोल गरे भने ह्युगो एकिटिकेले ८८औँ मिनेटमा चौथो गोल थप्दै आफ्नो अन्तर्राष्ट्रिय करियरको पहिलो गोल गरे। युक्रेनले कुनै गोल गर्न नसकेको यो खेल फ्रान्सको लागि पूर्ण रूपमा एकतर्फी रह्यो।
फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले म्याचपछि भने, “यो जित हाम्रो लागि महत्वपूर्ण थियो। हामीले राम्रो प्रदर्शन गरेका छौँ र विश्वकपको तयारीमा केन्द्रित हुनेछौँ। यो मेरो अन्तिम टुर्नामेन्ट हुनेछ, तर टोलीको भविष्य उज्ज्वल छ।” खेलअघि सन् २०१५ को पेरिस आक्रमणका पीडितहरूलाई श्रद्धाञ्जलि दिइएको थियो।
यसअघि इङ्ल्यान्डले पनि युरोपबाट सिधै छनोट भइसकेको छ। युरोपबाट कुल १६ टोलीले विश्वकपमा स्थान बनाउनेछन् जसमा १२ समूह विजेता र ४ प्ले–अफबाट छनोट हुनेछन्। समूह ‘डी’ को उपविजेता स्थानका लागि युक्रेन र आइसल्यान्डबीच अब आउँदो नोभेम्बर १६ मा निर्णायक खेल हुनेछ।
हालसम्म निम्न २९ टिमले विश्वकपमा स्थान पक्का गरेका छन्
- क्यानडा
- मेक्सिको
- संयुक्त राज्य अमेरिका
- जापान
- न्युजिल्यान्ड
- इरान
- अर्जेन्टिना
- उज्बेकिस्तान
- दक्षिण कोरिया
- जर्डन
- अष्ट्रेलिया
- ब्राजिल
- इक्वाडोर
- उरुग्वे
- कोलम्बिया
- प्याराग्वे
- मोरक्को
- ट्युनिसिया
- इजिप्ट
- अल्जेरिया
- घाना
- केप भार्डे
- साउथ अफ्रीका
- कतार
- इंग्ल्यान्ड
- साउदी अरेबिया
- आइभोरी कोस्ट
- सेनेगल
- फ्रान्स












