आज कार्तिक २१ गते दुई वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २५ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। कार्तिक २४ गते शनिवार र कार्तिक २३ गते शुक्रबार शेयर कारोबार नहुने तथा कार्तिक २२ गते छठको सार्वजनिक विदा परेकोले आज कार्तिक २१ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
सानिमा बैंकले मङ्सिर ४ गतेको लागि साधारणसभा बोलाएको छ। बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड रहेको छ । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
त्यस्तै आशा लघुवित्तले मङ्सिर ७ गते साधारणसभा बोलाएको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल लघुवित्तको चुक्ता पुँजी ६४ करोड १६ लाख रहेको छ। लघुवित्तको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।