१० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक गैरआवासीय नेपालीका लागि विदेशी मुद्रामा धितोपत्र जारी गर्ने गरि १० अर्बको एनआरएनए डेभलपमेन्ट फण्डको कार्यान्वयन सुरु हुने अवस्थामा पुगेको प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार हालसम्म नेपालीलाई नेपाली मुद्रामा मात्रै धितोपत्र जारी भइरहेको अवस्थामा गैरआवासीय नेपालीलाई विदेशी मुद्रामा धितोपत्र जारी हुने गरी सबैजसो कानुनी र प्रक्रियागत काम सकिएका छन् । अब धितोपत्र बोर्डले धितोपत्र बाँडफाँड नियमावलीको दफा ४१(ख) अनुसार एउटा निर्देशिका जारी गर्नासाथ १० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयमा आउने भट्टराईले बताएका छन् ।
‘सेक्युरिटी बोर्डबाट तिहारपछि निर्देशिका जारी हुन्छ होला, त्यसपछि कार्यान्वयनमा जान्छ’ उनले भने ।
पहिलो चरणमा गैरअवासीय नेपालीका लागि विदेशी मुद्रामा आईपीओ निष्काशन गर्ने र १ सय मिलियन डलर संकलन गर्ने लक्ष्य राखिएको छ । पहिलो अभ्यास भएकाले सफल हुँदै जाँदा यसको आकार बढ्दै जाने भट्टराईको भनाइ छ ।
कानुनी रुपमा नै धेरै कुरा सुधार गर्दै जानुपर्ने भएकाले निकै अगाडीदेखि चर्चामा रहेपनि बल्ल कार्यान्वयनको चरणमा पुग्न सफल भइएको उनले बताएका छन् । भट्टराईका अनुसार परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालय, कानुन मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय र संघीय संसदमा समेत एनआरएनए डेभलपमेन्ट फण्डका सम्बन्धमा छलफल भएर आवश्यक नीतिगत सहजीकरणको बाटो खुलेको हो ।
‘यो काम विलकुल नयाँ काम भएकाले समय लाग्यो, अब सेबोनले अन्तिम निर्देशिका जारी गरेपछि फण्ड संकलनको काम अघि बढ्छ’ उनले थपे, ‘यसबाट परम्परागत रुपमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउने मोडलमा पनि परिवर्तन आउने अपेक्षा छ ।’
यसअघि, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आयोजना गरेको एनआरएन दिवस र वार्षिक साधारणसभामा संघका अध्यक्ष डा. बद्री केसीले नेपालमा गैरआवासीय नेपालीले साधारण सेयर मार्फत लगानी गर्न सक्नेगरी १० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयन हुने अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए । पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा लगानी गर्ने परिकल्पनामा गरेर स्थापना गरिएको फण्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड र नेपाल सरकारको ५० करोड शेयर लगानी हुने बताइएको छ ।